चेन्नई: पेस बलर मिचेल स्टार्कको विध्वंशी बलिंग अनि भेंकटेश अय्यरको अविजित अर्द्धशतकको सहायताले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-मा काेलकत्ता नाइट राइडर्स (केकेआर) च्याम्पियन भयो। एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा आइतवार खेलिएको फाइनलमा केकेआर-ले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गऱ्यो। केकेआर-को यो आईपीएल-मा तेस्रो खिताब हो। यसअघि टीमले २०१२ र २०१४-मा गौतम गम्भीरको कप्तानीमा खिताब जितेको थियो। यसपाली गम्भीरले मेण्टोरको भूमिकामा रहेर टीमलाई तेस्रोपल्ट च्याम्पियन बनाए। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादको टीम १८.३ ओभरमा केवल ११३ रन बनाएर अलआउट भयो। त्यसपछि केकेआर-ले ५७ बल बाँकी रहँदै २ विकेटमा ११४ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर सुनिल नारिन (०६ रन)-लाई दोस्रो ओभरमै गुमाए पनि भेंकटेश अय्यरले अविजित अर्द्धशतकको साथ टीमलाई जीत दिलाए। केवल ११ रनमा पहिलो विकेटको पतनपछि ओपनर रहमानुल्लाह गुरबाजसँग मिलेर अय्यरले दोस्रो विकेटको निम्ति ९१ रनको पार्टनरशीप गरी स्कोर १०२ रनसम्म पुऱ्याए। अफगानिस्तानका विकेटकीपर ब्याटर गुरबाजले ३२ बल खेलेर ५ वटा चौका र २ वटा छक्काको साथ ३९ रन बनाए। गुरबाज आउट भएपछि भेंकटेश र कप्तान श्रेयस अय्यर (अविजित ६)-ले मिलेर जीतको औपचारिकता पूरा गरे। भेंकटेश अय्यरले २६ बल खेलेर ४ वटा चौका र ३ वटा छक्काको साथ अविजित ५२ रन बनाए। आईपीएल २०२४-को प्लेअफ्-मा यो उनको लगातार दोस्रो अर्द्धशतक हो। सनराइजर्सका बलरहरूमा कप्तान प्याट कमिन्स र शाहबाज अहमदले १-१ विकेट लिए।
फाइनलमा टस जितेर पहिले ब्याटिंग गर्ने सनराइजर्सको शुरुवात हताशाजनक रह्यो अनि टीमले पहिलो ओभरदेखि नै विकेट गुमाउन थाल्यो। केकेआर-को तर्फबाट स्टार्क र वैभव अरोड़ाले सनराइजर्सको शीर्ष क्रमको सातो खाए। अन्तमा कप्तान कमिन्सले २४ र ऐडन मार्करमले २० रनको योगदान दिएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। लीग चरणमा छक्का र चौकाको वर्षा गर्ने अभिषेक शर्मा (०२) र ट्रेविस हेड (शून्य) -को ओपनिंग जोड़ीले फाइनलमा पनि प्रशंसकहरूलाई निराश गऱ्यो। केवल ६ रनमा यी दुईलाई गुमाएपछि सनराइजर्सले शीर उठाउन सकेन अनि लगातार अन्तरालमा विकेट पनि गुमायो। त्यसपछि विकेटको पतन जारी रहँदा सनराइजर्सले पूरा २० ओभर पनि खेल्न सकेन। यसमा राहुल त्रिपाठीले ०९, नितिश कुमार रेड्डीले १३, हेनरिच क्लासेनले १६, शाहबाज अहमदले ०८ र अब्दुल समादले ०४ रन बनाएर आउट भए।

केकेआर-का बलरहरूमा आन्द्रे रसेलले सर्वाधिक ३ विकेट हासिल गरे जबकि मिचेल स्टार्क र हर्षित पटेलको नाममा २-२ विकेट रह्यो। रेकर्ड २४.७५ करोड़ मूल्यको साथ आईपीएलको सबैभन्दा महँगो खेलाड़ी स्टार्कलाई प्लेयर अव् द म्याच चयन गरियो।