सोरेङ: थर्पु व्लैक स्टार सोसाइटीको तत्वावधानमा अनि गान्तोक एसटीएनएम अस्पताल र सोरेङ अस्पतालका स्वास्थकर्मीहरुको सहकार्यमा थर्पुस्थित श्रीजंगा साँस्कृतिक भवनमा आज एकदिवसीय रक्तदान र नि:शुल्क स्वास्थ शिविर आयोजना गरियो। रक्तदान नौ जीवन दान हो भन्ने मूलमन्त्रको साथ ग्रामीण भेक थर्पुमा रक्तदान शिविर आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्य ग्रामीण क्षेत्रका आमजनतालाई रक्तदान विषयमा जागरुक गराउनु रहेको सोसाइटीका अध्यक्ष रविन खरेलले बताएका छन्। सामाजिक सहकार्यमा निरन्तर हात बढाइरहेका गैरसरकारी संस्था ब्लैक स्टार सोसाइटी थर्पुले रक्तदान शिविर भने पहिलोपटक आयोजना गरेको हो। उक्त स्वास्थ शिविरको आयोजना गर्नमा सोसाइटीलाई स्थानीय अन्य गैरसरकारी संस्थाहरुले पनि सहयोग पुर्याएका अध्यक्ष खरेलले जानकारी गराए भने आउने दिनहरूमा पनि स्वास्थ विभागसँग समन्वय राखेर यस्ता स्वस्थ्य शिविरहरु आयोजना गरिने उनले बताए। रक्तदान गरेर अरुको जीवन बचाउन सक्छौं, तर हामी रक्तदान विषयमा त्यति जागरुक छैनौं। रक्तदानबारे ग्रामीण क्षेत्रमा जागरुकता फैलाउन आवश्यक छ- अध्यक्ष खरेलले भने।
यहाँ आयोजित शिविरमा बालबालिका र वृद्धवृद्धासहित कुल १०६ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै ८६ जनाले रक्तदान गरेका थिए। शिविरको आयोजक ब्ल्याक स्टार सोसाइटी थर्पुले सबै ब्लड डोनर, डाक्टर र अन्य स्वास्थकर्मी, सहयोगी संघ-संस्था, स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरुलाई कृतज्ञता प्रकट गरेका छन्।