गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको निर्वाचनस्तरीय सभा याङगाङ बजारमा सीएलसी पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षतामा राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी एसकेएम पार्टीकी उम्मेदवार राज कुमारी थापाले गरेकी थिइन्।
सभामा मीडिया सेलका प्रमुख संयोजक विकास बस्नेत, महासचिव (संगठन) सीएल गुरूङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभाको मतगणनाको निम्ति काउन्टिङ एजेन्ट छनौट गरिनु रहेको थियो। सभालाई सम्बोधन गर्दै चुनाउ संयोजक एवम् एजेन्ट दुर्गा प्रसाद बस्नेतले मतगणना प्रक्रिया साथै मतगणना एजेन्टहरूको भूमिका र जिम्मेवारीहरूबारे जानकारी गराए। उनले मतगणनाको दिन समर्थकहरूको बस्ने व्यवस्थाका लागि निर्देश पनि उपस्थितहरूलाई जानकारी दिए।
सोही क्रममा टेङगला नाम्काले पार्टीका कार्यकर्ताहरूलाई मतगणनाको समयमा शान्ति कायम राख्नुपर्ने आग्रह गरे। एसकेएम पार्टी भारी भोटले विजय हुने र मतगणना केवल औपचारिकता मात्र रहेको उनले विश्वास व्यक्त गरे। यसै क्रममा विकास बस्नेतले विपक्षी दलले कुनै पनि सीट जित्ने सम्भावना नरहेको हुनाले गर्दा विपक्षी दलले एसकेएम पार्टीका समर्थकहरूलाई हिंसाको निम्ति उक्साउन सक्ने संकेत दिए।
एसकेएम पार्टी शान्ति कायम राख्नमा विश्वास गर्ने पार्टी रहेको तर कुनै प्रकारको हिंसा भने सहन नगर्ने जानकारी गराए। वर्ष २०१९ को चुनाउ जितेदेखि यता एसकेएम पार्टी राज्यमा शान्तिको लागि दृढताका साथ उभिएको र चुनाव पछि हिंसाको लागि शून्य सहनशीलताका साथ यस चुनाउमा पनि उही अडान कायम रहने बताए।
यसै क्रममा उम्मेदवार राजकुमारी थापाले पार्टी र नेता पीएस गोलेको कडा मेहनत र समर्पणका लागि सबै समर्थकहरूलाई धन्यवाद दिइन्। उनले पार्टी समर्थकको सद्भावनाका लागि सधैं काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै चुनाउपछि शान्ति र मर्यादा कायम गर्नुपर्ने विषयमा जोड दिइन्। उनले यस निर्वाचन क्षेत्रबाट एसकेएमले भारी मतले जितेर सरकार बनाउने विश्वास दिलाइन्।