पाकिम: पाकिम जिल्ला क्रिकेट समिति र सिक्किम क्रिकेट एसोसिएशनको संयुक्त पहलमा आयोजित अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज पाकिमको सेन्ट जेवियर्स विद्यालयको खेल मैदानमा सम्पन्न भयो।
यस अवसरमा पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त पुलिस अधिक्षक रिञ्जिङ छोपेल राई विशिष्ट अतिथिकोरूपमा रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल छोपेलले आयोजक समितिले यस प्रकारको प्रतियोगिता आयोजना गरेर युवाहरूलाई अवसर प्रदान गर्नको साथै उनीहरूको क्षमतालाई चिनाउने प्रयास गरेको बताए। उनले खेलकुदमा पुरूषसँगै महिलाहरूको संलग्नताको लागि प्रशंसा पनि व्यक्त गर्दै उनीहरूको क्षमताको देखरेख गर्नमा प्रशिक्षकहरूहरूले देखाएको समर्पण भावनाको पनि कदर गरे। यसका साथै उनले विद्यार्थीहरूलाई सक्रिय रूपमा आफ्नो प्रतिभा प्रदर्शन गर्न र राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरको प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे।
यसै क्रममा पाकिम जिल्ला क्रिकेट समितिका अध्यक्ष बीके धमालाले यस प्रतियोगितालाई सफल तुल्याउनको निम्ति आयोजक समितिले देखाएको प्रतिवद्धता र सहयोगको निम्ति कृतज्ञता प्रकट गरे। सोही प्रकारले सिक्किम क्रिकेट एसोसिएशनका वरिष्ठ प्रशिक्षक सोनाम पाल्देन भोटियाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि लिकाले गरेको प्रयासमाथि प्रकाश पारे। उनले खेलकूद तालिमले उनीहरुको अन्तरव्यक्तिगत क्षमतामा बृद्धि हुनको साथै साथी र शिक्षकहरुबीचको सम्बन्धलाई मजबुत बनाउने कुरामा जोड दिए।
आजको फाइनल खेल महिला र पुरूष गरि दुई वर्गमा रहेको थियो भने महिलावर्गको फाइनल खेल अम्बा माध्यमिक विद्यालय बनाम रम्फू वरिष्ठ माध्यमिक विद्यालयमाझ सम्पन्न भएको थियो पुरूषवर्गको खेल रिनाक माध्यमिक विद्यालय बनाम सेन्ट जेवियर्स विद्यालयबीच भीडन्त भएको थियो। पहिलो खेल महिलावर्गमा अम्बा विद्यालय र रम्फू विद्यालयबीच भय़ो जसमा अम्बा विद्यालय विजयी बन्यो।

यसरी नै पुरूषवर्गको खेलमा रिनाक विद्यालय विजयी बन्यो। महिलावर्गमा अम्बा विद्यालय टोलीकी खेलाडी नोर्मित लेप्चा र पुरूषवर्गमा रिनाक विद्यालय टोलीका खेलाडी बिटु कुमार शाहलाई म्यान अफ् द म्याच घोषित गरियो।