कालेबुङ: विश्व संवाद केन्द्र, उत्तर बंगाल, कालेबुङ एकाई द्वारा आयोजित देवर्षि नारद जयन्ती उत्सव तथा पत्रकार सम्मान कार्यक्रममा, यस वर्षको देवर्षि नारद सम्मान २०२४ कालेबुङका ख्याति प्राप्त पत्रकार रुद्र कार्कीलाई ससम्मान प्रदान गरियो। यस कार्यक्रमका अध्यक्ष डा. विनयराज शर्माको बाहुलीबाट उनलाई दोशल्ला ओढ़ाई वि.सं.के-को पक्षबाट सम्मान-पत्र, पुस्तक, सम्मान राशि सहित स्मृति चिह्न भेंट गरियो। आजको कार्यक्रममा शीर्ष अतिथिहरूको रूपमा डा. विनयराज शर्मा अध्यक्ष, रूद्र कार्की मुख्य अतिथि, असमबाट अरुण उपाध्याय एवं छुटेण्डुप लेप्चा विशिष्ट अतिथिद्वयहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमका मुख्य वक्ता समीर कुमार घोषले आजको परिप्रेक्षमा हाम्रो देश र समाज प्रति पत्रकारहरूको भूमिका र दायित्व बारे सान्दर्भिक वक्तव्य राखे भने मञ्चाशिन अतिथिहरूले पनि आ-आफ्नो मन्तव्य राखे। यस वर्षको देवर्षि नारद सम्मान -२०२४द्वारा सम्मानित पत्रकार रूद्र कार्कीले पनि पत्रकारिताबारे आफ्नो अनुभव साझा गरे। यस कार्यक्रममा उपस्थित कालेबुङ जिल्ला भरिका र सिलिगुड़ी क्षेत्रबाट आएका पत्रकारहरूलाई पनि सम्मान जनाइयो। स्थानीय गोर्खा दुःख निवारक सम्मेलनको प्रेक्षागृहमा सम्पन्न यस कार्यक्रममा नागरिक समूहको पनि राम्रो उपस्थिति रहेको थियो। आजको कार्यक्रमलाई श्याम दाहालले सञ्चालन गरेका थिए भने विश्व संवाद केन्द्र, उत्तर बंगाल कालेबुङ एकाइका सम्पूर्ण पदाधिकारीहरूको उपस्थिति रहेको थियो।