कालेबुङ: कालेबुङ साथै दार्जीलिङ भेकका सुपरिचित पत्रकार रुद्र कार्की आज कालेबुङमा ‘देवर्षि नारद सम्मान २०२४’द्वारा सम्मानित भएका छन्l विश्व संवाद केन्द्र, उत्तर बंगाल कालेबुङ एकाईको आयोजनामा सम्पन्न भएको देवर्षि नारद जयन्तीको विशेष कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको होl कार्यक्रमका अध्यक्ष डा. विनयराज शर्माको बाहुलीबाट उनलाई दोशल्ला ओढाएर विश्व संवाद केन्द्रद्वारा सम्मान-पत्र, स्मृति चिन्ह, सम्मान राशि सम्मानपूर्वक प्रदान गरियोl कार्यक्रम स्थानीय गोर्खा दु:ख निवारक सम्मेलनको प्रेक्षागृह सम्पन्न भएको थियोl
सन् १९९६ देखि रुद्र कार्कीले आजभोलि दैनिक समाचारपत्रबाट पत्रकारिता शुरु गरेका हुन्l यसपछि हिमालय दर्पणको स्थापना कालदेखि नै निरन्तर भारतीय नेपाली पत्रकारितामा विशेष भूमिका निर्वाह गरिरहेका छन्l समाचारसँगै उनी विचारमूलक सामाजिक साथै राजनैतिक लेखहरु लेख्छन्l पत्रकारिताको दृष्टिकोणबाट ग्रामीण जनजीवनलाई प्रमुखता दिएर बेलाबखत रोचक लेखहरू प्रस्तुत गर्छन्l आफ्नो फेसबुक पोस्टमा सबैप्रति उनले आभार प्रकट गरेका छन्l फेसबुक पोस्टमा उनले यसरी लेखेका छन्, ‘सम्मान-पुरस्कार पाउँने उद्देश्यले जिन्दगीमा कहिल्यै गरिएन कुनै पनि काम। पत्रकारिता त झनैँ त्यसरी गरिएन। यस पेशामा पाउँनु भन्दा बेसी गुमाएको तिक्तता छ, जो मलाई नजिकबाट चिन्नेहरूलाई प्रत्यक्ष थाहा छ। तर गर्दै जाँदाको प्रतिविम्ब सम्झेर ग्रहण गरेँ। पहिलोपल्ट प्रस्ताव आउँदा नकारेँ, अनि मैले केही दिग्गजहरूको नाम अघि सारेँ। तर सात सदस्यीय जुरीले मेरै नाममा मोहर लाएको आयोजक मण्डलीले बताएपछि अस्वीकार गर्न सकिनँ।‘ यस सम्मानले झनै सामाजिक उत्तरदायित्व बढेको आभाष भएको उनले उजागर गरेका छन्l ‘तर बहन गर्न सकिन्छ कि सकिन्न त्यसको छुट्टै चिन्ता पनि बढ्यो’, आफ्नो पोस्टमा उनले यसो भनेका छन्l
यस सम्मान कार्यक्रमका मुख्य वक्ता समीर कुमार घोषले आजको परिप्रेक्षमा देश र समाजप्रति पत्रकारहरूको भूमिका र दायित्व बारे वक्तव्य राखेl कार्यक्रममा विशिष्ट अतिथिहरूले पनि आआफ्नो वक्तव्य प्रस्तुत गरे। यस वर्षको देवर्षि नारद सम्मान -२०२४ द्वारा सम्मानित पत्रकार रूद्र कार्कीले पत्रकारिताबारे आफ्नो तितामिठा अनुभवहरू साझा गर्दै सबैप्रति आभार प्रकट गरे। यस सम्मान कार्यक्रममा उपस्थित कालेबुङ जिल्लाभरिका साथै सिलगढी क्षेत्रबाट आएका पत्रकारहरूलाई पनि सम्मान जनाइयो। आजको कार्यक्रमलाई श्याम दाहालले सञ्चालन गरेका थिए भने विश्व संवाद केन्द्र, उत्तर बंगाल कालेबुङ एकाइका सम्पूर्ण पदाधिकारीहरू साथै कालेबुङका सर्वसाधारणको उपस्थिति रहेको थियो।