गोर्खाल्याण्ड बुझाउँदै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको घैयाबारीदेखि सुकनासम्म पैदल यात्रा

IMG-20240526-WA0297.jpg

गोर्खाल्याण्डको कुनै विकल्प छैन अनि यसमा सम्झौताको बाटो पछ्याउनु हुँदैन: किशोर प्रधान

खरसाङ: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पैदल यात्रा आज खरसाङको घैयाबारीदेखि सुकनासम्म सम्पन्न भएको छ। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानको अगुवाईमा गोर्खाल्याण्ड विषयमा बुझाउँदै खरसाङको घैयाबारी, कालीमाट्टी, तीनधारे हुँदै चुनभट्टी, रंगटङ्ग भएर सुकनासम्म पुगेका छन्। उक्त पैदल यात्राको सुरुवात् घैयाबारीबाट गरिएको थियो। पैदल यात्रा शुरु हुन अघि घैयाबारीको रेलवे स्टेशन परिसरमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पथ सभा पनि सम्पन्न गरिएको थियो। उक्त पथ सभामा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको पक्षबाट संयोजक किशोर प्रधान, बिक्रम छेत्री, आदर्श मंगरले सम्बोधन गरेका थिए। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानको अगुवाईमा दशजनाको टोलीले गोर्खाल्याण्ड विषयमा जनतालाई जागरूक गराउँदै र बुझाउँदै घैयाबारीदेखि सुकनासम्म पैदल यात्रा सम्पन्न गरेका छन्। यस समूहले गोर्खाल्याण्ड किन र कसरी साथै गोर्खाल्याणड चाहान्छौं होइन तर गोर्खाल्याण्ड आवश्यकता जस्ता विषयहरूमा लेखिएको पर्चाहरू पनि ठाउँ ठाउँमा मानिसहरूलाई वितरण गर्दै पैदल यात्रा गरेका थिए। यस समूहमा संयोजक किशोर प्रधान लगायत बिक्रम छेत्री, जितेन्द्र रसाइली, जोगमान थापा, आदर्श मंगर, सुकबहादुर राई, विन्ध्या डुक्पा, अनिता लकान्द्री, फुर्बा तामाङ अनि
तीनधारे क्षेत्रबाट डीपी प्रधान विशेष रुपमा उपस्थित रहेका थिए। उक्त पैदल यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानले गोर्खाल्याण्ड हाम्रो इच्छा र चाहाना होइन तर गोर्खाल्याण्ड हाम्रो आवश्यकता हो भनी बताएका छन्। उनले अबको समयमा वी वान्ट गोर्खाल्याण्ड होइन तर वी निड गोर्खाल्याण्ड हो भनी बताउँदै गोर्खाल्याण्डको लागि अब हामी राजनैतिक चलखेलहरूमा फस्नु हुँदैन अनि गोर्खाल्याण्ड दिल्लीबाट प्रायोजित आन्दोलन हुनु हुँदैन भनी बताएका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको संयोजक किशोर प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘गोर्खाल्याण्ड कुनै राजनैतिक पार्टीले होइन तर हरेक जनता उठेर आउनुपर्छ अनि गोर्खाल्याण्डको मांगमा ब्रेक लाग्नु हुँदैन। तर यो निरन्तर चलिरहनुपर्छ। गोर्खाल्याण्डको लागि कुनै राजनैतिक पार्टीको आश्वासनमा हाम्रो ऊर्जा, उत्साह र समर्पण खेरो फाल्नु हुँदैन।’किशोर प्रधानले अघि भने, ‘हामी त्यसै मुद्दाको पछि लागेको होइनौं, कसैले दिन्छ भनेर मागेका होइनौं। गोर्खाल्याण्ड हाम्रो जन्मसिध्द अधिकार हो।

गोर्खाल्याण्डको मुद्दालाई हरेक भारतीय गोर्खाहरूले आफ्नो भन्नुपर्छ अनि आफ्नो बनाउनु पर्छ। यस मुद्दालाई मेरो मुद्दा भन्नुपर्छ। मेरो गोर्खाल्याण्ड, मेरो दायित्व भनेर भन्नुपर्छ। यसलाई जीविकासँग जोड्नु हुँदैन। जीवनसित जोड़ेर हेर्नुुपर्छ। यो वर्तमानसित होइन भविष्यसित जोडिएको मुद्दा हो। आफुपछिको भीड़लाई हेरेर होइन तर आफ्नो भिजनलाई हेरेर अघि बढनुपर्छ।’ प्रधानले अझ भने, गोर्खाल्याण्डको कुनै विकल्प छैन। यो नभएसम्म निरन्तर लागि रहनुुपर्छ। यसमा सम्झौताको बाटो पछ्याउनु हुँदैन। गोर्खाल्याण्ड एक दिन अवश्य हुन्छ।’

उनले गोर्खाल्याण्ड एक्टिभिस्ट समूहमा जोडिन चाहानेले अवश्य पनि जोडिन सक्ने तर यहाँबाट कुनै चुनाव लड्न सक्नु भनेप सोच्न नसकिने र यसमा कुनै स्वार्थ नरहने पनि बताएका छन्। उनले समूहमा आउन चाहनेले नि:स्वार्थ रूपमा रहेर कार्य गर्नलाई सम्पर्क गर्न सक्ने बताएका छन्। उनले आजको पैदल यात्राको कार्यक्रम शिक्षक डीपी प्रधानले मिलाएको र एकजना सक्रिय सदस्य पाएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement