खरसाङ: नेपाली विभाग उत्तर बङ्ग विश्वविद्यालय अनि सिलगढी नेपाली साहित्य संस्थानको संयुक्त तत्वावधानमा सिर्जना र सम्वार्ता कार्यक्रम सम्पन्न भएको छ। नेपाली विभागका विभाग प्रमुख डा. पुष्कर पराजुलीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने नेपाली साहित्यका वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई सम्वार्ताका लागि आमन्त्रण गरिएको थियो। कार्यक्रममा उबवि नेपाली विभागका प्राध्यापक सञ्जय राई, डा. डप छिरिङ लेप्चा, डा. कृष्णमाया मगर उपस्थित थिए भने सिलगडी नेपाली साहित्य संस्थानका संरक्षक प्रोफेसर घनश्याम नेपाल, डा. ईडेन रिन्जी वाङ्दी अनि सबै सदस्यगण उपस्थित रहेका थिए। कार्यक्रमको आरम्भमा हालैमा दिवाङ्गत भएका संस्थानका संरक्षक एडोन रोंगोंगलाई श्रद्धाञ्जलि स्वरूप एक मिनटको मौन धारण गरी सबैले सम्झाना गरे। यसपछि संस्थानकी उपाध्यक्ष सरिता शर्माले सबै अतिथिगणलाई औपचारिक स्वागत गरिन्। वार्ताकार नन्द हाङ्खिमको व्यक्तित्व र कृवित्वबारे बोल्दै संस्थानका अध्यक्ष डा देवचन्द्र सुब्बाले नन्द हाङ्खिमले सुरुदेखि नै उपयोगितामूलक साहित्यका पक्षमा लेख्दै आइरहेका हुन् र उनको प्रगतिवादी कलम उग्र नभएर समाज र पुस्तालाई नयाँ दिशा दिने प्रवृत्तिका छन् भन्ने विचार राखे। सम्वार्ताका क्रममा साहित्यकार नन्द हाङ्खिमले आफ्नो जीवनका राम्रा नराम्रा अनुभवहरू खुलस्त रूपमा राख्दै अभिषेक नाटकबारे आफ्नो गम्भीर विचारहरू साझा गरे। कार्यक्रम अन्तरक्रियात्मक भएकाले विभागका शोधार्थी, विद्यार्थीहरूले आआफ्ना प्रश्नहरू नन्द हाङ्खिमलाई राखे। सबै प्रश्नहरूको सहजताका साथ उत्तर दिँदै उनले आउने विद्यार्थीहरूले अबको साहित्य सम्हाल्नु पर्छ भन्ने मन्तव्य राखे। कार्यक्रमबारे बोल्दै नेपाली विभागका प्रध्यापक सञ्जय राईले नन्द हाङ्खिम नेपाली साहित्यलाई अतुलनीय योगदान पुऱ्याउने साधक हुन् र उनका बारेमा अझै राम्रोसँग काम हुनुपर्ने विचार राखे। यसका साथै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूलाई साहित्यिक प्रेरणा र हौसला मिल्नेछ भन्ने विचार राखे। संस्थानका संरक्षक प्रोफेसर घनश्याम नेपालले नन्द हाङ्खिम एकजना वरिष्ठ साहित्यकार मात्र नभएर साहित्यका मौन साधक पनि हुन भन्ने विचार राखे। पुराना साहित्यकारहरूलाई यसरी सुन्न पाउनु भनेको हाम्रो अहोभाग्य हो र संस्थानले यस्तो कार्यक्रम गरिरहनु पर्छ भन्ने विचार राखे। संस्थानकै संरक्षक डा इडेन रिन्जी वाङ्दीले आफूलाई पनि नाटक प्रिय लाग्ने विषय भएकाले आजको वार्ता अति नै ज्ञानप्रद र लाभान्वित बनाउने भयो भन्ने विचार राखिन्। अध्यक्षको सम्भाषणका क्रममा डा. पुष्कर पराजुलीले संस्थानलाई यस प्रकारको कार्यक्रमका लागि प्रस्ताव राखिदिएकामा धन्यवाद दिँदै नन्द हाङ्खिम नाटककार, कथाकार, कवि हुँदा हुँदै पनि उनी एकजना राम्रा गीतकार पनि हुन् भन्ने जानकारी सबैलाई साझा गरे। यस कार्यक्रममा उत्तर बङ्ग विश्वविद्यालयका विभिन्न विभागका प्राध्यापकगण, विभागका विद्यार्थी एवम् शोधार्थीहरू उपस्थित थिए भने कालीपद घोष तराई महाविद्यालयका विद्यार्थीहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा नेपाली विभाग उबवि र सिलगडी नेपाली साहित्य संस्थानले अङ्गवस्त्र, ढाका टोपी अनि स्मृति चिह्न प्रदान गरी वरिष्ठ साहित्यकार नन्द हाङ्खिमलाई सम्मान गऱ्यो। कार्यक्रमको औपचारिक धन्यवाद डा. डट छिरिङ लेप्चाले दिएका थिए भने कार्यक्रम सञ्चालन डा सपन प्रधानले गरेका थिए भन्ने जानकारी प्राप्त भएको छ।