
जिन्दगी खोज्दा खोज्दै आफै हराएको थाह भएन
थाकिसकेपछि फेरि त्यसलाई खोज्ने‘नि चाह भएन
इमान बेचेर सम्पत्ति कमाउनेहरू पनि नदेखेको हैन
गरीब नै रहियो आफू इज्जतमा कसैसित डाह भएन
मरियो धेरैपल्ट जीवनमा पटक-पटक सास चले पनि
तर खै किन हो किन यो मरेको आत्माको दाह भएन
हिँडियो अनेक कन्धरा,भीर,पखेराहरू जीवन खोज्दै
सत्ते होला जिन्दगीमा आरामले हिँड्ने कुनै राह भएन
अनेक संघर्ष गर्दा पनि जिन्दगी आह र उफ!मै बित्यो
आफूले सोंचे जस्तो एकबारको जुनी वाह!वाह! भएनll