नयाँ दिल्ली: दिल्लीको विवेक विहारमा रहेको बाल अस्पतालमा शनिबार राति २५ मईमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ। ५ जनालाई उद्धार गरिएको छ। दुई तले भवनको पहिलो तल्लामा नवजात बेबी केयर केन्द्र थियो। त्यसमा कुल १२ बालबालिका भर्ना भएका थिए। दिल्ली अग्निशमन विभागका प्रमुख अतुल गर्गले आगलागीको कारण भने थाहा नभएको बताए। तर प्रारम्भिक अनुसन्धानमा अक्सिजन सिलिण्डर विष्फोट भएर आगलागी भएको बताइएको छ। बेबी केयर सेन्टरको मुनि भुइँतलामा अवैध अक्सिजन सिलिन्डर रिफिल गर्ने काम भइरहेको थियो। दिल्ली पुलिसले बाल अस्पतालका मालिक डा. नवीन किची विरुद्ध आईपीसी धारा ३३६ (अरूको व्यक्तिगत सुरक्षालाई खतरामा पार्ने), ३०४ए (लापरवाहीले मृत्यु निम्त्याउने) र ३४ (आपराधिक गतिविधि) अन्तर्गत प्रथामिकी दर्ता गरेको छ। उनी पश्चिम विहारका बासिन्दा हुन्। घटनापछि उनी फरार छन्।राति ११:३० बजे आगलागी भएको जानकारी पाएको दमकलले बताएको छ। घटनास्थलमा जम्मा १६ वटा दमकल पुगेको थियो। त्यतिन्जेलसम्म आगो माथिल्लो तला र नजिकैका दुईवटा भवनमा फैलिसकेको थियो। धुवाँका कारण अन्य ११ बालबालिकाको अवस्था गम्भीर बनेको छ। दमकलको टोली र स्थानीयले काठको सिँढी चढेर अन्य ११ बालबालिकालाई झ्यालबाट बाहिर निकाल्यो। त्यतिन्जेलसम्म निसास्सिएर ६ बालबालिकाको मृत्यु भइसकेको थियो।