झापा: मोरङको बेलबारी नगरपालिकाले अव्यवस्थित रुपमा फोहोरमैला फ्याकेको भन्दै कानेपोखरी गाउँपालिकाका स्थानीयले विरोध जनाएका छन्। केही महिनाअघिदेखि बेलबारी नगरपालिकाको आफ्नै २ वटा ट्याक्टरमा हाली दैनिक रुपमा पूर्व पश्चिम राजमार्गको (चिसाङ पुल) एक किलोमिटर दक्षिणमा पर्ने चिसाङ खोलाको पश्चिम किनारामा फोहरमैला फ्याक्दै आएको छ। बेलबारी- १० मा पर्ने सो क्षेत्रमा फोहोर मैला फ्याक्दा चिसाङ खोलामा प्रदुषण बढ्ने, सोहि नदिको पूर्वपट्टि कानेपोखरी क्षेत्रका जनता तथा जीवजन्तुलाई प्रत्यक्ष असर पर्ने र बर्षातमा बाढी आउँदा अहिले फ्याकिदै आएको फोहोर भेल बाढीले सतह बाहिर ल्याउन सक्ने भन्दै कानेपोखरीका स्थानीयको चिन्ता रहँदै आएको छ। बेलबारी नगरपालिकाले अहिले चिसाङ खोलाको किनारामा करिब ८ फुट गहिरो खनेर फोहोर पुर्दै आएको छ। नकुहिने प्लास्टिकजन्य फोहोरहरू बर्षाको समयमा बाढीले बगाउने, बगाइएका धेरै चिजहरूले नदीको पानी प्रदूषित बन्ने, त्यहाँ फ्याँकिएका औषधि जन्य चिजहरूका कारण सिँचाइको लागि पैंनीबाट लगिएको पानी विषालु हुन सक्ने; जसका कारण जीवजन्तु तथा जनावरहरूलाई प्रत्यक्ष असरहरू पर्ने भएकोले आफुहरुले चिसाङमा फोहोर डम्पीङ नगर्न आग्रह गरिएको कानेपोखरी गाँउपालिका वडा नम्बर -५ मा रहेको जनजागृति सामुदायिक वन उपभोक्ता समुहका सह–सचिव गोविन्द अधिकारी ‘बवी’ले बताए। ‘कतै चिसाङ खोला पनि भविष्यमा दोस्रो सेउती बन्ने त होइन भन्ने हामीलाई चिन्ता छ’– अधिकारीले भने। आफ्ना मागहरूलाई सम्बोधन नगरी नगरपालिका अगाडि बढे आफ्नो वन उपभोक्ता समुह जुनसुकै कदम चाल्न पनि पछि नहट्ने भन्दै कानुनी न्यायका लागि अघी बढ्ने उनले बताएका छन्। पछिल्ला ६–७ महिना यता दैनिक रुपमा २ वटा ट्याक्टर मार्फत फोहोर मैला ल्याएर खोला किनाराभित्रै खनी फ्याक्दै आएको पाईएको छ। सो नदिको पश्चिम किनारमा फोहोर मैंला छुट्याउने केन्द्र भन्दै एउटा टहरो पनि निर्माण गरिएको छ। कुहिने र नकुहिने फोहोर मैलालाई व्यवस्थित रूपमा व्यवस्थापन गर्ने भनिए पनि सो टहरो प्रयोगविहीन देखिन्छ।










