झापा: पछिल्लो समय रसुवागढी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ। यस नाकाबाट सबैभन्दा बढी विद्युतीय कार, १० र १५ सिटका माइक्रो भ्यान तथा बस नेपाल भित्रिरहेका छन्। पछिल्लो समय नेपालको चीनसँग जोडिएको व्यापारिक नाकामध्ये व्यस्त र बढी राजस्व उठ्ने नाकामा रसुवागढी भन्सार पर्छ। चालु आर्थिक वर्ष ०२३–२४ को जुलाईदेखि मार्चसम्म यस नाकाबाट चार हजार सात सय ६ साना–ठूला सवारीसाधन आयात भएको रसुवा भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए।
आयत गरिएका गाडीमध्ये चार हजार ६ सय ७९ विद्युतीय कार, माइक्रो भ्यान र माइक्रोबस नेपालतर्फ भित्रिएका हुन्। सो नाकाबाट पाँच हजार आठ सय ५० सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको रसुवा भन्सारका सूचना अधिकृत निर्मल कँडेलले बताए। विद्युतीय कारको खरिद मूल्य चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार र भन्सार शुल्क ११ लाख ९८ हजार उठेको प्रमुख भन्सार अधिकृत पाठकले बताउछन।
चालु आर्थिक वर्षका नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व असुली गरेका भएको थियो भने तुलनात्मक एक सय ६६ प्रतिशत राजस्व वृद्धि भएको उनले बताए। गत आर्थिक वर्षको यही अवधिमा पाँच अर्ब ९४ करोड मात्र असुली भएको थियो। ठूलो संख्यामा चीनबाट सवारीसाधन आयात भएकाले चालु आर्थिक वर्षमा कर बापतको राजस्व बढेको हो। स्रोतका अनुसार चालूआर्थिक वर्षका नौ महिनामा ४८ अर्ब ५९ करोडबराबरको सामग्री आयात भएको थियो। आयातित सामग्रीमा साना–ठूला सवारीसाधन, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, तयारी कपडा, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री छन्। २०१४ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा वर्षमा दैनिक तीन सयदेखि चार सय सवारीसाधन आवतजावत हुने गरेको छ। चीनले अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।











