झापा: नेपाल आएका विदेशी पर्यटकको औसत बसाई अवधि १३.२ दिन रहेको पाइएको छ। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएका थिए। ती विदेशी पाहुनाको नेपाल बसाई अवधि १३.२ दिन रहेको पर्यटन मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार यो बसाई अवधि सन् २०२२ मा १३.१ दिन थियो। सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार ८ सय ६९ जना विदेशी पाहुना आएका थिए। विदेशी पाहुनाको नेपाल बसाई अवधि सबैभन्दा बढी सन् २०२१ मा १५.५ दिन थियो। त्यो वर्ष नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना आएका थिए।
सन् २०२० मा भने नेपालमा विदेशी पाहुनाको बसाई अवधि १५.१ दिन थियो। २०१९ मा नेपालमा विदेशी पर्यटकको बसाई अवधि १२.७ दिन थियो। नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ र २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना आएका थिए। २०१९ मा भित्रिएका विदेशी पाहुनाको त्यो संख्या नै अहिलेसम्मको सबैभन्दा बढी हो।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पर्यटकको बसाई अवधि बढाउन पर्यटक भुलाउने गतिविधि गर्न जरुरी हुन्छ। उनका अनुसार पछिल्लो समय संसारभर नै विदेशी पाहुनाको बसाई अवधि घट्दो क्रममा रहेको छ। ‘संसारभरी नै पर्यटकको बसाई अवधि बढ्न सकेको छैन। पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने त्यसको लाभ पर्यटन क्षेत्रमा पर्छ,’ लामिछानेले भने , ‘पाहुना जति बढी समय बस्छन, उत्ति नै खर्च पनि गर्छन। पर्यटकको बसाई अवधि थपिँदा खर्च स्वतः बढिहाल्छ।’
उनका अनुसार भ्रमणमा आउने पर्यटकको बसाई अवधि भने कम हुन्छ। भ्रमणका लागि आएका पर्यटकको बसाई अवधि ३/४ दिनमात्र हुने उनले बताए । तर, पदयात्रा, हिमाल आरोहणका लागि आएका पाहुनाको बसाई अवधि भने बढी हुन्छ। हिमाल आरोहणका लागि आएका पाहुना त ६०/७० दिनसम्म पनि बस्छन। आरोहणको पर्खाइमा लामो समय बस्नुपर्ने हुँदा ती पर्यटकको बसाई अवधि बढी हुन्छ।
सन् २०२० र २०२१ मा सबैभन्दा बढी बसाई अवधि थियो। कोरोना भाइरस संक्रमणले गर्दा त्यो बेला पर्यटकको निर्धारित यात्रा प्रभावित हुन पुगेको थियो। आएका पर्यटक पनि तोकिएको समयमा फर्किन सकेका थिएनन। जसोतसो भित्रिएका कतिपय विदेशी पाहुना क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताले पनि उनीहरुको बसाई अवधि बढेको थियो।
लकडाउनका कारण कतिपय विदेशी पर्यटक लामो समयसम्म नेपालमै बस्न बाध्य भएका थिए। भीसा अवधि थप्दै ती पर्यटकहरु नेपालमा बसेका थिए। उद्धार उडानको तालिका अनुसार विदेशी पाहुना फर्किनुपर्दा त्यो बेला बसाई अवधि थपिन पुगेको थियो। त्यसबाहेक आएका पाहुना पनि क्वारेन्टिनमा बस्नुपर्दा उनीहरु अतिरिक्त समय नेपाल बसेको व्यावसायीले बताउँदै आएका छन्।
पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार नेपालमा विदेशी पर्यटकको बसाई अवधि अन्य मुलुकको तुलनामा केही कमी भएपनि साह्रै कमजोर भन्न मिल्दैन। ‘ठूला र धेरै सहर हुने देशको तुलनामा त नेपालको बसाई अवधि केही कम हो। साह्रै कमजोर नै भन्न पनि मिल्दैन। अनुपातमा नेपालको बसाई अवधिलाई ठिकै मान्नुपर्छ,’ सापकोटा भन्छन , ‘हामीसँग थोरै मात्र गन्तव्य भएकोले बसाई अवधि पनि त्यही अनुसार हुन्छ। ठुला देशमा धेरै नै गन्तव्य हुन्छन्, जहा धेरै गतिविधि र आकर्षण पनि हुन्छन।’
पर्यटकीय सहरमा हुने गतिविधि र आकर्षणले त्यो देश मा पर्यटककको बसाई अवधि तय हुने उले बताए । उनका अनुसार पदयात्रामार्गमा मोटरबाटो गएपछि अहिले बसाई अवधि पनि कम भएको छ। त्यसका लागि पदयात्राका लामो र नयाँ रुट पहिचान गर्न सक्नुपर्छ। पछिल्लो समय जहाजको यात्रा बढ्दै गएको, हेलिकप्टरमा उच्च हिमाली भेगसम्म पुगेर फर्किन पाउने गर्दा पनि बसाई अवधि घटेको पनि उनले बताए।
त्यसबाहेक नयाँनयाँ गन्तव्य पहिचान गर्ने र ती ठाउँमा विदेशी पाहुनालाई पठाउन सक्ने हो भने बसाई अवधि थपिन्छ। ‘पर्याप्त खर्च गर्ने पर्यटक आउँदा पनि बसाई अवधि कम हुन्छ। किनकी उनीहरुको छिटोगरि यात्रा पुरा हुन्छ। त्यस्तै खर्च नै गर्न नसक्ने पाहुना आउँदा पनि बसाई अवधि घट्छ,’ उनले भने , ‘पर्यटनमा आम्दानीले दोहोरो अर्थ राख्छ।’











