झापा: संखुवासभा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल सभाखोपरीमा एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–२९ का ७० वर्षीय बुद्धि गुरुङ रहेका जिल्ला पुलिस कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले बताए।पोखरा–२९ का ७० वर्षीय गुरुङको मई २४शुक्रवार विहान ८ बजे सभापोखरी गाउँपालिका–५ लोरुम्बामा मृत्यु भएको लामिछानेले बताए। धार्मिक तथा पर्यटकीयस्थल सभापोखरी जाने क्रममा बिहीवार दिउँसो गुरुङ बीच बाटोमा नै विरामी परेका थिए। त्यसपछि छोरा सागर गुरुङले उद्धारका लागि पुलिसलाई खबर गरेका थिए। एभरेष्ट एयरको हेलिकप्टरलाई खबर गरेर सभापोखरी–५ लोरुम्बा पुग्दा बुबा मृत फेला परेका उनले बताएका छन्। सभापोखरी यातायात र सञ्चार सेवा नभएको कारण भौगोलिक रुपमा निकै विकट मानिन्छ। घटनास्थल सदरमुकाम खाँदबारीदेखि तीन दिनको पैदल दूरीमा पर्दछ।गुरुङको शव मुचुल्कापछि आज एभरेष्ट एयरको हेलिकप्टरमार्फत पोखरा लगिने जिल्ला पुलिस कार्यालयले जनाएको छ। जिल्लामा अन्य तीर्थस्थलमध्ये धार्मिक आस्थाका मुख्य केन्द्र मानिएको यस पोखरी जान निकै समस्या भएको तिर्थालुहरु बताउँछन्। सभापोखरीमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गर्छ।











