झापा: केही दिनयता नेपालको पूर्वी तराईंमा गर्मी अत्यधिक बढ्न थालेको छ। अप्रत्यासित वर्षासँगै बढेको गर्मीका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ। यसैबीच, अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको छ। मेचीनगरमा सडकमा हिँड्दा हिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ। आज अपरान्ह ५ः३० बजेतिर मेचीनगर-९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए। मेचीनगर- ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। छिमेकीका अनुसार आज दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन्। त्यस्तै, आज अपरान्ह बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ। मागिखाई हिड्ने अन्दाजी ६०-६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको पुलिसले जनाएको छ। गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशंका गरिएको छ। आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो।











