मयनागढी: मयनागढी आबकारी विभागले जलपाईगढी जिल्लाको मयनागढी ब्लक अन्तर्गत रामसाई ग्राम पञ्चायतको काजलदिघी इलाकामा लगातार ८ घन्टासम्म छापामार अभियान चलाएर लगभग ६ करोड रुपियाँको मिलावटी रम-रक्सी लगायत अन्य सर-सामानहरू उद्धार गरेको छ। त्यहाँ एउटा घरमा फ्याक्ट्री खोलेर मिलावटी रम-रक्सी बनाउँदै आइरहेको थियो। आबकारी विभागले बताए अनुसार हाल यति अधिक संख्यामा मिलावटी रम-रक्सी उत्तर बंगालको कहींबाट पनि उद्धार भएको थिएन।

घटनाक्रम अनुसार आबकारी विभागका अधिकारीहरूले शुक्रवार अपरान्हदेखि लगातार ८ घन्टासम्म मयनागढी ब्लकको उक्त मिलावटी रम-रक्सीको फ्याक्ट्रीमा छापामार अभियान चलाए। यो घटनाले मयनागढी ब्लकको रामसाई ग्राम पञ्चायत इलाकामा सनसनी फैलिएको छ। शुक्रवार अपरान्ह जलपाईगढी सदर आबकारी विभागलाई गोप्य सूत्रले मिलावटी रम-रक्सी बनाउने फ्याक्ट्रीबारे जानकारी दिएपछि रामसाई ग्राम पञ्चायतको काजलदिघी इलाकाको निरञ्जन रायको घरमा छापामार अभियान चलाएको थियो। यस अवधि धेरै मात्रामा विदेशी अवैध रम-रक्सीका बोतलहरू लगायत अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। यसको साथै मिलावटी रम रक्सी बनाउँदा प्रयोग गरिने धेरै सर-सामानहरू पनि जफत गरेको छ।

अबकारी विभागले ७ गाडी अवैध रम रक्सी लगायत सर-सामानहरू जफत गरेको छ। आबकारी विभागको जलपाईगढी डिभिजनका डिप्टी कमिश्नर सुजीत दासले भने, मैले हालमा यति धेर मात्रामा मिलावटी रम-रक्सी बनाउने प्याक्ट्री देखेको छुइँन। लगभग ६ करोड़ रूपियाँको अवैध रम-रक्सी उद्धार गरिएको छ। यस्तो रम-रक्सी स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ। यस्ता रमहरू सेवन गर्नाले मानिसहरूको मृत्यु पनि हुनसक्छ। फ्याक्ट्रीका मालिक आरोपीले हाल चम्पट कसेका छन्। तिनको खोजी गरिदैछ।











