चेन्नई: प्याट कमिन्सको कप्तानीमा सनराइजर्स हैदराबादले इतिहास रच्दै २०१८ पछि पहिलोपल्ट अनि समग्रमा तेस्रोपल्ट आईपीएलको फाइनलमा स्थान बनायो। अब आइतवार (२६ मई) खेलिने फाइनलमा सनराइजर्सको भिड़न्त कलकत्ता नाइट राइडर्ससँग हुनेछ। सनराइजर्सले शुक्रवार खेलिएको क्वालीफायर २-मा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गऱ्यो। म्याच जितेपछि सनराइजर्सका कप्तान कमिन्सले टीममा बद्लाउहरूबारे चर्चा गरे। उनले भने, हामीले कस्तो क्रिकेट खेल्यौं भन्ने सबैले देखे। फाइनल नै हाम्रो लक्ष्य थियो अनि त्यसलाई हामीले हासिल गऱ्यौं। कमिन्सले भने, ब्याटिंग नै हाम्रो ताकत हो भन्ने हामीलाई थाहा छ तर नट्टू (टी नटराजन), उनादकट र भुवी जस्ता अनुभवी खेलाड़ीहरूलाई हल्कामा लिन सकिँदैन। शाहबाज अहमदलाई इम्प्याक्ट प्लेयर-को रूपमा खेलाउने विषयमा उनले भने, त्यो भिटोरीको इच्छा थियो। उनी देब्रे हातका स्पिनर मन पराउँछन्। यसरी अभिषेक शर्मालाई ४ ओभर बलिंग गराउने विषयमा कमिन्सले भने, मलाई पीचमा बलले सामान्य ग्रीप हासिल गरिरहेको जस्तो लाग्यो। यसैकारण उनलाई बलिंग गर्न लगाइयो। फाइनल खेल्ने सदा आनन्ददायक हुन्छ। धेरैपल्ट लक्ष्य कठिन हुन्छ। जस्तै, आज हामीलाई शुरुवाती विकेटको आवश्यकता थियो अनि हामीले विकेट हासिल गऱ्यौं। यस लयलाई कायम राखे खिताब जित्ने आशा गरेका छौं। उल्लेखनीय छ, सनराइजर्सले २०१६-मा आरसीबी-लाई पराजित गरी पहिलोपल्ट आईपीएल खिताब जितेको थियो। त्यसपछि टीमले २०१८-मा पनि फाइनल खेलेको थियो तर त्यस समय चाहिँ चेन्नई सुपर किंग्स विरुद्ध पराजित भएको थियो।
म्याचको कुरा गर्दै एमए चिदाम्बरम स्टेडियम (चेपक)-मा टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले खराब शुरुवातपछि २० ओभरमा ९ विकेट गुमाएर १७५ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि राजस्थान रोयल्सले चाहिँ ७ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। लक्ष्यलाई खेदो गर्दै रोयल्सबाट ध्रुव जुरेल र यशस्वी जयसवाललाई छोड़ेर अन्य कसैले पनि १० भन्दा अधिक रन बनाउन सकेनन्। अन्यसम्म लड़ाइँ गर्ने जुरेलले ३५ बल खेलेर सर्वाधिक अविजित ५६ रन बनाए। उनले ७ वटा चौका र २ वटा छक्का लगाए। यसरी जयसवालले २१ बल खेलेर ३ वटा छक्का र ४ वटा चौकाको साथ ४२ रन बनाए। पूरा सीजनमा सनराइजर्सको सबैभन्दा ठूलो कमजोरी मानिएको स्पिन आक्रमण नै म्याचमा टीमको सबैभन्दा ठूलो ताकत बन्यो। यसमा शाहबाज अहमदले ३ र अभिषेक शर्माले २ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै सनराइजर्सले तेज शुरुवात गरे पनि लगातार विकेट गुमायो। यसैकारण टीम एक समय समस्यामा परेको थियो तर पाँचौं नम्बरमा ओर्लिएर हेनरिच क्लासेनको ५० रनले टीम असल स्थितिमा पुग्यो। क्लासेनले ३४ बल खेलेर ४ वटा छक्का लगाए। यसबाहेक राहुल त्रिपाठीले ३७, ट्रेविस हेडले ३४ र शाहबाज अहमदले १८ रनको योगदान दिए। राजस्थानका बलरहरूमा ट्रेण्ट बोल्ट र अवेश खानले ३-३ विकेट लिए जबकि सन्दीप शर्माको खातामा पनि २ विकेट रह्यो।











