गान्तोक: नहुने भयो सिक्किममा वाहनहरूमा सीट बेल्ट अनिवार्य। परिवहन विभागका सचिवको अध्यक्षतामा राज्यका विभिन्न ट्याक्सी एसोसिएशनका प्रतिनिधिहरूसितको बैठक पछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको छ। यो बैठक आज राजधानीस्थित यातायात भवनमा बसेको थियो। बैठकमा सीट बेल्ट अनिवार्य गर्ने राज्य सरकार तथा परिवहन विभागको नयाँ नियम बारे विस्तृत रुपमा चर्चा भएको थियो। चर्चा पछि आगामी १ जूनदेखि लागु हुने भनिएको सीट बेल्ट अनिवार्य नियमलाई फिर्ता लिने निर्णय भएको छ। बैठक सक्दासम्म अफिस आवर सकिएकोले आज नोटिफिकेशन जारी गर्न नसकिएको विशेष सूत्रले बताएको छ।
उल्लेखनीय छ, सिक्किम सरकारको परिवहन विभागले आगामी 1 जूनदेखि धेरैवटा नयाँ नियम-कानून लागु गर्न गइरहेको छ जसमा सीट बेल्ट अनिवार्य पनि एक रहेको थियो। तर, यस नियमलाई लिएर अगावै विवाद र विरोध शुरु भएको थियो। पहाड़ी भेकमा वाहनहरूमा सीट बेल्ट लगाउनु कतिको सुरक्षित हो भन्ने कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो।
यसैबीच हिजो मात्र भारतीय जनता पार्टी सिक्किम प्रदेश एकाईले पत्रकार सम्मेलन नै डाकेर यस बारेमा पुनर्विचार गर्नुपर्ने र कानून लागु गर्न अघि हितधारहरूसित बैठक गर्नुपर्ने माग गरेको थियो। अन्ततः विभागले सीट बेल्ट अनिवार्य नियमलाई लागु गर्न अघि नै फिर्ता लिएको छ।