अलिपुरद्वार: भीषण आगलागीको चपेटमा परेर एउटै परिवारको चारवटा घर जलेर खरानीमा परिणत भएको छ। घटना शुक्रवार भोर बिहान फालाकाटा ब्लकको फालाकाटा दुई नम्बर ग्राम पञ्चायतको चुआखोला क्षेत्रमा घटेको हो। उक्त घटनाको कारणले गाउँमा खैलाबैला मच्चियो। तथापि घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन।
घरका मालिक लक्ष्मीकान्त बर्मनले बताए, भोर बिहान अचानक घरमा आगो लाग्यो। आगो लागेपछि परिवारका सबै सदस्यहरू घरदेखि बाहिर निक्लिए। त्यसपछि गाउँका मानिसहरूको सहयोगमा आगोलाई निभाउने चेष्टा गरियो। घटनाको सूचना पाएर फालाकाटा फायर ब्रिगेडको एउटा इञ्जीन घटनास्थलमा पुगेर घण्टौं संघर्ष गरेपछि आगोलाई नियन्त्रण गऱ्यो। आगोको चपेटमा परेर उनका चारैवटा घरका सामानहरू जलेर खरानी भएको छ। फायर ब्रिगेडका अधिकारी अनुसार आगलागीको कारण स्पष्ट भएको छैन। मामिलाको जाँच गरिँदैछ।