पद्मश्री पुरस्कार प्रापक खरसाङका वैज्ञानिक डा. एकलव्य शर्मालाई खरसाङमा सम्मान

IMG-20240524-WA0281.jpg

खरसाङ: भारतका राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीबाट हालैमा पद्मश्री पुरस्कार पाएका खरसाङका वैज्ञानिक डा. एकलव्य शर्मालाई सन्त अल्फन्सेस विद्यालयमा एक कार्यक्रममा सम्मान गरिएको छ। उनी खरसाङको सन्त मेरीज निवासी साथै यस विद्यालयका पूर्व छात्र हुन्। कार्यक्रममा विद्यालयको तर्फबाट डा. एकलव्य शर्मालाई सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयका प्रिन्सिपल फादर केभिन मोक्तानले सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै हुँदै डा एकलव्य शर्माले यस विद्यालयका पूर्व शिक्षकहरुको सम्झना गर्दै उहाँहरुकै कारणले गर्दा आफु यस विद्यालयमा बिताएका धेरै सम्झनाहरूबारे पनि बताए। उनले जीवनको जग स्कूलबाट सुरु हुने बताए। हामीले जीवनमा जे गरे पनि त्यसको पहिचान अवश्य हुन्छ। यस संसारमा सबै कुरा सम्भव छ, तर यसमा एकाग्रता चाहिन्छ। कुनै पनि काम गर्दा राम्रो सोचका साथ गर्नुपर्छ। राम्रो नियतले काम गर्नुभयो भने भगवानले पनि साथ दिन्छन् भनी बताए। पद्मश्री अवार्डको स्मरण गर्दै उनले भने, ‘काम गर्दा मैले अवार्ड पाउँछु भन्ने सोचेर काम गरेको होईन तर मेरो मेहनत र समर्पणले मलाई यो स्थानमा कसरी पुर्यायो थाहा छैन। यो भगवानको कृपा हो।
शिक्षाको महत्वलाई उजागर गर्नु हुँदै उनले विशेष गरी विद्यालयका बाल बालिकाहरुलाई जीवनमा केही हाँसिल गर्न सानो सोचले होइन ठूलो सोचका साथ काम गर्न सुझाव दिएका छन्। उनले बालबालिकालाई वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह समेत गरे। यस अवसरमा विद्यालयले पावर प्वाइन्टमार्फत डा. एकलव्य शर्माको जीवनका विभिन्न झलकहरू पनि देखाएको थियो। कार्यक्रममा जेनिफर जर्जले डा. शर्माको जीवनीबारे जानकारी गराएका थिए। सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयका प्रिन्सिपल फादर केभिन मोक्तानले यस विद्यालयका पूर्व छात्रलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा भएको बताए। आगामी दिनमा पनि यस विद्यालयबाट यस्ता असाधारण प्रतिभा भएका विद्यार्थीहरू आउनेछन् भन्ने आशा लिएको छु। यस क्रममा उनले डा एकलव्य शर्माको उज्ज्वल भविष्यको कामना पनि गरे।
कार्यक्रमको सञ्चालन शिक्षक दिव्यत्तम अधिकारी र जेनिफर जार्गेले गरेका थिए। यस अवसरमा विद्यालयका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका उप प्रधानाध्यापक फादर डेभिडले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरुप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement