लातूर: महाराष्ट्रको लातूर जिल्लाका एक दिव्यांग विद्यार्थीले १२ कक्षाको परीक्षा खुट्टाले लेखेर दिए, अनि उनले ७८ प्रतिशत अंक ल्याएका छन्। विद्यार्थी भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारी बन्न चाहन्छन्। विज्ञान विषयका विद्यार्थी गौस शेखले परीक्षा लेखकको सहयोग लिन मानेनन्। त्यसपछि मार्चमा भएको १२ कक्षाको परीक्षामा उनले खुट्टाको औंलामा कलम च्यापेर उत्तर लेखे। गौसको जन्मदेखि नै हात थिएन। परीक्षाको नतिजा यसै साताको शुरुमा घोषणा गरिएको थियो। एउटा सानो गाउँका १७ वर्षीय गौसले रेणुकादेवी उच्च माध्यमिक आश्रम विद्यालय, वसन्तनगर टाँडाबाट आफ्नो स्कुलको पढाइ पूरा गरे, जहाँ उनका बाबु चौथो कक्षाको कर्मचारीको रूपमा काम गर्नुहुन्छ। गौसका बुबा अमजदले भने, ‘गौसले चार वर्षको उमेरदेखि नम्बर र अक्षर लेख्न थालेका थिए। उनका प्राथमिक शिक्षकहरूले उनलाई खुट्टाको औंलाले लेख्ने अभ्यास गराए।‘ सामान्य विद्यार्थीलाई दिएको समयमै परीक्षा लेख्ने काम पूरा गर्ने गौसले पत्रकारसँग भने, ‘बाल्यकालदेखि नै देश सेवा गर्ने सपना देखेको थिएँ, त्यसैले म आइएएस अधिकारी बन्न चाहन्छु।‘