खरसाङ: खरसाङ खण्ड स्वास्थ्य केन्द्र सुकनाको आयोजनामा तीनधारेमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। तीनधारेको मिठाईडाँड़ास्थित प्रगति समाजको सार्वजनिक भवनमा सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा तीनधारे र वरिपरिका ३०० देखि ४०० मानिसहरूले नि:शुल्क स्वास्थ्य जाँच गराएका थिए। उक्त स्वास्थ्य जाँच शिविरमा विभिन्न प्रकारका साधारण रोगहरू लगायत मधुमेह, रक्तचाप, टिभी, एचआईभी जस्ता रोगहरूको जाँच गरिएको थियो। यसको साथै विभिन्न रोगहरू विषयमा सचेतना पनि गराइएको थियो। उक्त शिविरमा साधारण रोग विशेषज्ञ, आँखा र दाँतको डाक्टर उपस्थित रहेका थिए। यसको साथै विभिन्न रोगका औषधिहरू पनि नि:शुल्क वितरण गरिएको जानकारी प्राप्त भएको छ।

यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा खरसाङ खण्ड स्वास्थ्य अधिकारी डाक्टर चित्रलेखा सरकार, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान र उप प्रधान रञ्जित थापा, सामाजिक कार्यकर्ता बिनयकुमार छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त स्वास्थ्य जाँच शिविरमा मिठाईडाँड़ा रेणुका कन्या उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि स्वास्थ्य जाँच गराएका थिए। यस नि:शुल्क स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको स्वास्थ्य अधिकारी डाक्टर चित्रलेखा सरकारले विस्तृत जानकारी गराएका छन्।










