गर्भमा छोरा छोरी हेर्न पेट काट्ने पतिलाई आजीवन कारावासको सजाय

बदायुं (उत्तर प्रदेश): छोरा जन्माउने चाहनामा श्रीमतीमाथि क्रूरताको सबै सीमा नाघेको अत्यन्तै लज्जास्पद घटनामा बदायुंको अदालतले हँसियाले गर्भवती श्रीमतीको पेट काट्ने पतिलाई दोषी ठहर गरेको छ। यस मुद्दामा अदालतले अभियुक्तलाई जन्मकैदका साथ् ५० हजार रुपियाँ  जरिवानाको फैसला गरेको छ। विशेष सरकारी वकिल (एडीजीसी) मुनेन्द्र पाल सिंहले शुक्रबार साँझ अतिरिक्त सत्र न्यायाधीश फास्ट कोर्ट (पहिलो) सौरभ सक्सेनाले पन्नालाललाई जन्मकैदका साथ ५० हजार रुपियाँ जरिवानाको सजाय सुनाएको शुक्रबार जानकारी दिए जरिवाना नतिरेमा थप ६ महिना कैद सजाय भोग्नुपर्नेछ।

घटनाको जानकारी दिँदै पुलिसले भन्यो, ‘सिभिल लाइन्स थाना क्षेत्रको घोन्चा गाउँका गोलुले १९ सेप्टेम्बर २०२० मा पुलिस चौकीमा एफआईआर दर्ता गराएका थिए जसमा उनले आफ्नी बहिनी अनिताको विवाह शहरको मोहल्ला नेकपुर निवासी पन्नालालसँग भएको आरोप लगाएका थिए। उजुरीका अनुसार अनिताले विवाहपछि पाँच छोरी जन्माएकी थिइन्। जसका कारण उनका श्रीमान पन्नालालले उनलाई लगातार दुर्व्यवहार गर्ने र फेरि अर्को बिहे गर्ने धम्की अनितालाई दिएका थिए। घटनाको समयमा ३० वर्षीया अनिता आठ महिनाकी गर्भवती थिइन्। यसैबीच एक दिन पन्नालाल घर आए र अनितासँग झगडा गर्न थाले। त्यसपछि उनले भने, ‘तिमीले छोरीलाई मात्र जन्म दिन्छौ। यस पटक तिम्रो पेट खोलेर हेर्छु छोरा हो कि छोरी।‘

त्यसपछि पन्नालालले हँसियाले अनिताको पेट काटे जसका कारण अनिताको आन्द्रा बाहिर निस्किएर आठ महिनाको नानीको गर्भपतन भएको उजुरीमा उल्लेख छ। पछि त्यो छोरा हो भन्ने थाहा लाग्यो। मामलाका अनुसार अनितालाई गम्भीर अवस्थामा बरेलीको एक अस्पतालमा भर्ना गरिएको थियो र उनको उपचार गरिएको थियो। गोलुको उजुरीका आधारमा पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरेको थियो। पुलिसका वरिष्ठ उपरीक्षक आलोक प्रियदर्शीले अनुसन्धान पूरा भएपछि अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गरिएको र मुद्दामा नियमित सुनुवाइ भएको बताए। विशेष अदालतले पन्नालाललाई दोषी ठहर गर्दै जन्मकैदका साथ ५० हजार जरिवानाको फैसला गरेको उनले बताए। हाल पन्नालालको उमेर ३८ वर्ष छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement