झापा: नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ। उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको मई १७शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो।
द्विदेशीय सिमाना टिपताला भन्ज्याङ पाँच हजार १०० मिटरको उचाइमा पर्दछ। यहाँको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित टिपताला नाकासम्म नेपाली सवारी साधनअन्तर्गत पहिलो पटक एक्स्काभेटर र ट्र्याक्टर पुगेको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिए।
सुके पानीदेखि ओलाङ्चुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको र गोलादेखि टिपतालासम्म पहिले निर्माण भएको सडकको मर्मत तथा स्तरोन्नति गरिएपछि नेपाली गाडी पुर्याउन सम्भव भएको वडाध्यक्ष शेर्पाले बताउछन। सडक निर्माण तथा स्तरोन्नतिको काम भने एसवीए एलाइट जेभी कम्पनीले गरिरहेको छ। गत मार्च भित्रै टिपतालासम्म सडक जोड्ने निर्माण कम्पनीले राखेको लक्ष्य भने पूरा भएको थिएन।
सडक निर्माणका क्रममा सुकेपानी–जोङ्गिन खण्डमा कडा चट्टान भेटिएपछि निर्धारित समयमा टिपताला जोड्ने लक्ष्य असफल भएको हो। टिपतालासम्म सवारी साधन (गाडी) पुगेपछि जिल्लावासी भने हर्षित भएका छन्। सबैभन्दा बढी टिपताला सिमाना नजिकको बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्साका बासिन्दा खुशी भएका छन्।
यसै गरी टिपतालासम्म यो सडक विस्तार भएसँगै भारत, नेपाल र चीनसम्म सडक सञ्जाल जोडिएको छ। भारतको सिमाना विराटनगर रानीदेखि तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोक मार्गले तिब्बतसँगको सिमाना टिपताला जोडेको छ। लम्बाई करिब २ सय ९२ किलोमिटर रहेको यो सडक मार्गलाई भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गका रूपमा लिने गरिएको छ।
स्रोतका अनुसार सडक पहुँच विस्तार भएर गाडी टिपतालासम्म पुगे पनि नाका सञ्चालनमा आउने सकेको छैन। कोरोना (कोभिड–१९) महामारीसँगै बन्द भएको टिपताला नाका पाँच वर्षदेखि बन्द रहेको छ। टिपताला नाका खुलाउनलाई निरन्तर पहल भने भइरहेको छ। गत मइ ७ देखि नाका खुल्ने भनिए पनि अहिलेसम्म नखुलेको हो।
पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यको नेतृत्वमा गएको स्थानीय सुरक्षा प्रमुखसहितको नेपाली टोली र तिब्बतको डिङजी काउन्टी सत्ताका प्रतिनिधिबिच टिपताला नाका खुला गर्ने विषयमा छलफल भएको थियो। त्यस बेला मइ ७ देखि नाका खुला गर्ने गरी छलफल भए पनि हालसम्म नखुल्नुको कारणबारे कुनै जानकारी नभएको प्रजिअ आचार्यले बताए। नाका खुला गर्ने विषयमा तिब्बतका तर्फबाट आवश्यक तयारी पूरा नभएको लगायतका प्राविधिक कारण हुनसक्ने उनको भनाइ छ।
यसअघि मइ ७ देखि नाका खुल्ने सूचना पाएपछि सोही दिनदेखि तिब्बत जाने गरी स्थानीयले प्रवेश अनुमति लिएका थिए । ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङकाअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रवेश अनुमति लिएका ३० जना बढी नाका खुला हुने पहिलो दिन नै तिब्बत प्रवेश गर्ने तयारीमा रहेको भए पनि उनीहरू रोकिएका थिए। तिब्बत जाने योजनामा रहेको स्थानीयहरू अहिले पनि नाका सञ्चालनको प्रतीक्षामा रहेको वालुङले बताए।
प्रजिअ आचार्यका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वार्ड-७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकासमेत करिब १३० जना सर्वसाधारणले तिब्बत प्रवेशका लागि अनुमति पत्र लिएका छन्। टिपताला नाका बन्द भएपछि लामो समयसम्म आफन्त भेटघाट गर्न नपाएका सर्वसाधारण नागरिक तिब्बत जान पाउने दिन पर्खिरहेका छन्। यहाँको पापुङ,ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा लगायतमा बसोबास गर्ने धेरै परिवारमा तिब्बतसँग सम्बन्ध जोडिएको छ। यी बस्ती र तिब्बतबिच वैवाहिक सम्बन्ध रहेको छ।