गान्तोक: भारतीय जनता पार्टी सिक्किम प्रदेशले राज्यमा चुनाउ पश्चात हिंसाको आशङ्का जताएको छ। हिंसाको डरले अहिले राज्यवासी त्रसित बनेको पार्टीको भनाइ रहेको छ। आज राजधानीमा एउटा पत्रकार सम्मेलन डाकेर पार्टीले आगामी २ र ४ जूनको दिन हुने क्रमैले राज्य विधानसभा र लोकसभा चुनाउको मतगणनापछि हिंसा भड़्कन सक्ने आशङ्का जताएको हो।
सिक्किम प्रदेश भाजपाका प्रवक्ता डीआर गिरीले राज्यमा चुनाउ पश्चात हुनसक्ने हिंसाको आशङ्काले अहिले राज्यमा विशेष गरेर गाउँ बस्तीमा मानिसहरू डराएको बताए। विशेष गरेर राज्यमा हाल केयरटेकर सरकार चलाइरहेको सिक्किम क्रान्तिकारी मोर्चाका नेताहरूले चुनाउ प्रचारको समय खुल्लारुपमा जनतालाई धम्काउने काम गरेको उनको आरोप रहेको छ। भारतीय जनता पार्टी सदैव अहिंसा र शान्तिको पक्षमा रहेको बताउँदै राज्या चुनाउ पश्चात हुनसक्ने हिंसालाई रोक्नपर्ने उनले बताए। यसको निम्ति गिरीले भारतीय जनता पार्टीको पक्षमा सरकारका सम्बन्धित निकायहरू साथै सबै राजनीतिक पार्टीलाई अगावै सचेत गराएका छन्। शान्ति नै सिक्किम राज्यको मूल परिचय हो भन्दै यसलाई कुनै पनि स्थितिमा बचाएर राख्नुपर्ने उनले बताए।
अर्कोतिर राज्यमा चाँड़ै लागु हुनगाइरहेको मोटर भेहिकल ऐनहरूलाई लिएर पहिले सम्बन्धित हितधारकहरूसित चर्चा गरिनुपर्ने भारतीय जनता पार्टीले सुझाउ दिएको छ। अचानक नोटिश जारी गर्दा हचपच र त्रासको स्थिति सिर्जना भएको भन्दै आवश्यक दस्तावेजहरू तयार पार्न अझ केही समय दिनुपर्ने पार्टीको माग गरेको छ।
विभागको नियम कानूनहरूलाई लिएर कुनै आपत्ति नरहेको तर लागु गर्न अघि ती कानूनहरूको सबल अनि दुर्बल पक्षमाथि चर्चा गरिएको राम्रो हुने प्रवक्ता डीआर गिरीले बताए। यसको साथै हिमाली भेकमा सीट बेल्ट अनिवार्यको कानूनमाथि पनि चर्चा गरिनुपर्ने पार्टीले थप सुझाउ दिएको छ।









