खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बामा यसपाली पनि बुध्द जयन्ती पालन गरिएको छ। उक्त गुम्बामा यसपाली २५६८औं बुध्द जयन्ती तामाङ बुध्दिष्ट एसोसिएशन तीनधारेको आयोजनामा सम्पन्न भएको छ। यसको साथै म्हाणिपा संघ तीनधारे। गुरू मैत्री संघ तीनधारेको सहभागिता र सहयोग पनि रहेको थियो भने शीतलादेवी मन्दिरबाट पनि सक्रिय सहभागिता रहेको थियो। बुध्द जयन्तीको अवसरमा बिहानको समय बुध्दको प्रतिमा लिएर साथै बौध्द धर्म ग्रन्थ र धार्मिक ध्वाजाहरू बोकेका तीनधारे परिक्रमा गरिएको थियो।

उक्त धार्मिक रैली गुम्बाबाट शुरु भएर तीनधारे बजार हुँदै ब्लु डाईमण्ड स्कूलसम्म पुगेर एनएच हुँदै तीनधारेस्थित रेलवे कारखाना भएर सत्र माइल हुँदै पुन: मिठाईडाँड़ास्थित गुम्बामा पुगेर समापन भएको छ। उक्त बुध्द जयन्ती पालन गर्नलाई गुम्बाको स्थायी सञ्चालन समितिद्वारा एक अस्थायी कमिटी गठन गरेर आगामी २१ मईदेखि २३ मईसम्म तीन दिवसीय रूपमा गुम्बाको प्रमुख लामा बुम्बा डुम्जनको म्हेम्हेको अगुवाईमा पूजा गरेर बुध्द जयन्ती पालन गरिएको छ। उक्त तीन दिवसीय बुध्द जयन्ती अन्तर्गत पहिलो दिन २१ मईमा गुम्बाको मुख्य लामा बुम्बा डुम्जनको अगुवाईमा बिहानदेखि दोमाङ पठन र बेलुकी ५ बजेदेखि सोल्खो पूजा (महाकाल पूजा) आयोजना गरिएको छ। त्यसरी नै दोस्रो दिन २२ मईको दिन बिहानदेखि डोल्मा पूजा, सामुहिक पूजा अनि १०८ वटा छिमी प्रज्वलन गरिएको छ। बुध्द जयन्तीको तेस्रो तथा अन्तिम दिन बिहानको पूजा, दिउँसो छोई कोर, बुध्दको प्रतिमा साथै छोईहरू बोकेर नगर परिक्रमा गरिएको छ। यसको साथै अन्तिम दिन मुख्य लामा र उनको सहयोगीहरुद्वारा वाङ अभिषेक वितरण तथा छिमी दीप प्रज्वलन गरिएको जानकारी प्राप्त भएको छ। यसपाली बुध्द जयन्ती समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको सचिव महेन्द्र तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्।

उनले यसपालीको बुद्ध जयन्ती समारोहमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन् भने रैलीको समयमा विभिन्न स्थानहरूमा रैलीमा सहभगी सबैलाई चिसो चुस दिएर सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। तीनधारेको मिठाईडाँड़ास्थित पद्यमा छोईलिङ गुम्बाको निर्माण 1946 सालमा बनिएको बताइएको छ।