हामीले जतिसक्दो असहाय, गरीब दु:खीको सेवा गर्नुपर्छ: सभासद श्याम शेर्पा

खरसाङ: शेर्पा एसोसिएशन खरसाङको आयोजनामा पनि खरसाङमा बुध्द जयन्ती पालन गरिएको छ। विगत धेरै वर्षदेखि खरसाङमा बुध्द जयन्ती पालन गर्दै आईरहेको शेर्पा एसोसिएशनको आयोजनामा शेडुप धार्गेलिङ बौध्द गुम्बामा यसपाली पनि तीन दिवसीय पूजाको साथमा बुध्द जयन्ती पालन गरिएको छ। शेर्पा एसोसिएशनको आयोजनामा सम्पन्न बुध्द जयन्ती समारोह अन्तर्गत बिहानको समय खरसाङ बजारमा धार्मिक रैली निकालेर नगर परिक्रमा गरिएको छ। उक्त रैली खरसाङको शेर्पा बस्तीस्थित शेर्पा गुम्बा परिसरबाट शुरु भएर मोटर स्ट्याण्ड हुँदै हिल कार्ट रोड भएर अस्पताल मोड़बाट वर्ध्दमान रोड हुँदै पुन: शेर्पा गुम्बासम्म पुगेर समापन गरिएको छ। उक्त रैलीमा मानिसहरूले बौध्द धर्म ग्रन्थ र धार्मिक ध्वाजाहरू बोकेका थिए भने मानिसहरूले ठाउँ ठाउँमा धर्म ग्रन्थलाई ढोग गर्दै सम्मान गरेका थिए। उक्त धार्मिक रैलीमा शेर्पा एसोसिएशन खरसाङको सभापति दावा शेर्पा, सचिव श्याम शेर्पा लगायत अन्यहरू उपस्थित रहेका थिए। उल्लेखनीय छ शेर्पा एसोसिएशन सन् १९५३ मा गठन गरिएको थियो भने शेर्पा बस्तीको गुम्बा सन् १९७५ मा निर्माण भएर विगत १९८० सालदेखि खरसाङमा शेर्पा एसोसिएशनको पक्षबाट बुध्द जयन्ती पालन गर्दै आईरहेको जानकारी प्राप्त भएको छ। उक्त बुध्द जयन्तीको अवसरमा निकालिएको रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै शेर्पा एसोसिएशन खरसाङको सचिव एंव सभासद श्याम शेर्पाले शेर्पा एसोसिएशनद्वारा खरसाङमा विगत धेरै वर्षदेखि बुध्द जयन्ती पालन गर्दै आईरहेको र यसै अनुसार यसपाली पनि खरसाङको शेर्पा बस्तीमा रहेको शेडुप धार्गेलिङ बौध्द गुम्बामा बुध्द जयन्ती समारोह तीन दिवसीय पूजाको साथमा पालन गरिएको जानकारी गराएका छन्। उनले यस अवसरमा धार्मिक रैली पनि खरसाङ बजारमा निकालिएको बताएका छन्।

बुध्द जयन्तीको अवसरमा मानिसहरूलाई सन्देश दिन्दै सभासद एंव शेर्पा एसोसिएशन खरसाङको सचिव श्याम शेर्पाले भगवान बुध्दले सिकाएको अहिंसा, परम धर्मलाई पालन गर्दै लोभ लालज नगर्नु र गरीबलाई सहयोग गर्नु पर्ने बताएका छन्। उनले मानव भएपछि मानवता देखाउनु पर्ने कारण मानवता काम लाग्ने बताएका छन्। श्याम शेर्पाले अघि भने, ‘हामीले जतिसक्दो असहाय र गरीब दु:खीलाई सेवा गर्नुपर्छ।’










