गान्तोक: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदाले तयारीबारे समीक्षा बैठक आयोजना गरिन्। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको समीक्षा बैठकमा जिल्लाका नोडल अधिकारीहरूले सहभागिता जनाएका थिए। उक्त अवसरमा अतिरिक्त जिल्लापाल धिराज सुवेदी,अतिरिक्त जिल्लापाल (विकास)गायस पेगा,महकुमा अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा जिल्लापाल हिस्से डी.योङदाले मतगणना तयारीबारे समीक्षा गर्दै विभिन्न विषयमा निर्देश दिएकी छन्। उनले मतगणना प्रक्रियालाई सुचारु रूपमा सञ्चालन गर्नका लागि प्रत्येक नोडल अफिसरको भूमिका र जिम्मेवारीलाई समयमै पूरा गर्ने विषयमा जोड दिइन्। उनले मतगणना केन्द्रमा विभागको आवश्यकता बारेमा पनि जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरिन्।