सिक्किम अकादमीले आयोजन गरेको पाँच दिने लोक गीत प्रशिक्षण भव्यताको साथ सम्पन्न

n6109166981716396307670f1d36c9aa734861813a08941d0a96263c46d515f38aed6e7805699ce51f40b45.jpg

अरु हुने प्रयास गर्न अघि आफै भएर आफैलाई चिनौं: एसआर सुब्बा

गान्तोक: सिक्किम अकादमीले आयोजन गरेको पाँच दिने लोक गीत प्रशिक्षण भव्यताको साथ प्रत्यक्ष प्रस्तुतिकरणसित सम्पन्न भयो।

सिक्किमका वरिष्ठ मादल वादक पञ्च बहादुर राई मुख्य अतिथिको रुपमा उपस्थित रहेको समापन समारोहमा रसिया (दम्के) असारे र घसिया गीत प्रशिणार्थीहरुले प्रस्तुत गरे।

प्रशिक्षक तथा लोक संगीतकर्मी नरेन गुरुङले पाँच दिने कार्यशाला ऐरिहासिक भएको बताए। उनले प्रशिक्षणमा युवाहरुको सहभागिता आर्कषक रहेको तथा १२० जना विद्यार्थीले नियमित रूपमा खुबै चासोको साथ प्रशिक्षणमा सहभागिता दिएकोमा हर्ष प्रकट गरे।

सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाले स्वागत सम्बोधन राख्दै अरुको सिको गर्न अघि आफू हुनुपर्ने साथै आफ्नो रितिथिति, लोक संस्कृति र परम्परालाई जान्न आवश्यक रहेको बताए। उनले विद्यार्थीलाई निलो स्यालको लोक कथाको उदाहरण दिॅंदै आफ्नो चिनारी भुल्नु नहुने बताए। त्यसैकारण सिक्किम अकादमीद्वारा हरॉंउदै गइरहेका लोक गीतहरूको प्रशिक्षण आयोजन गरेको बताए।

‘हाम्रो मौलिकता राम्रो अस्तित्व’ नाराको साथ आयोजन गरिएको प्रशिक्षणमा कञ्चनजंघा राज्य विश्वविद्यालय, नरबहादुर भण्डारी महाविद्यालय, बुर्तुक सरकारी महाविद्यालयका शिक्षक, विद्यार्थी र संस्कृति विभागका अधिकारी कलाकारहरूले प्रशिक्षणमा भाग लिएका थिए। समापन कार्यक्रमको अध्यक्षता जीवनीकार अनिता निरौलाले गरेकी थिइन्। उनले लोक गीतबारे यो प्रशिक्षण महत्वपूर्ण र ऐतिहासिक रहेको बताइन्। उनले यस प्रकारको महत कार्य निरन्तर हुनुपर्ने बताइन्।

प्रशिक्षणमा विभिन्न शैक्षिक संस्थानका १२० जना विद्यार्थीले भाग लिएका थिए। प्रशिक्षणार्थीहरूले सिकेका दम्के, घसिया र असारे गीतको परिचयसितै प्रत्यक्ष प्रस्तुति दिएका थिए। यस प्रशिक्षणबारे विद्यार्थी र शिक्षकहरुले अनुभव साझा गरेका थिए। जसमा डा. टीबी छेत्रीले लोक संस्कृतिबारे विद्यार्थीलाई पढाउनु पर्ने र प्रत्यक्ष अभ्यास पनि गराउन पर्ने हुँदा यो प्रशिक्षण उपयोगी सिद्ध भएको बताए। यसैगरि विद्यार्थीहरूले पनि नयाँ अनुभव र सिक्ने मौका पाएको बताउँदै सिक्किम अकादमी र प्रशिक्षकलाई आभार जनाए।

कार्यक्रममा मुख्य अतिथि पञ्च बहादुर राईले दुईवटा लोक गीत र मादलको ताल सुनाए। सिक्किम अकादमीले वयोवृद्ध लोक कलाकार पञ्च बहादुर राईलाई अभिनन्दन जनाइयो। यसैगरि प्रशिक्षक नरेन गुरुङलाई पनि सम्मान गरियो। प्रशिक्षणमा सहभागी प्रशिक्षणार्थीहरूलाई प्रमाण पत्र प्रदान गरियो।

कार्यशालामा संस्कृति विभागका सचिव बसन्त लामा, साहित्य परिषदका अध्यक्ष हरि ढुंगेल, रूद्र पौडेल, केएन शर्मा समेत वरिष्ठ कलाकार साहित्यकारहरूको बाक्लो उपस्थिति थियो। महासचिव पूर्ण योन्जनले सञ्चालन गरेको कार्यक्रममा प्रशासनिक सचिव पीएल शर्माले आभार प्रकट गरे।

About Author

Advertisement