भारतमा ब्राह्मण र श्रमण गरी दुइवटा धार्मिक परम्परा छन्। ब्रह्मलाई मोक्षको आधार मानेर वेदवाक्यलाई नै ब्रह्मवाक्य मान्ने ब्राह्मण परम्परा हो। मोक्ष प्राप्तिको मार्ग ईश्वरलाई नमानेर श्रमलाई मान्नेहरू श्रमण हुन्। व्यक्तिले आफ्नो विकास आफ्नै श्रमद्वारा गर्नसक्दछ; सुख-दुःख, उत्थान-पतन सबैका लागि ऊ आफै उत्तरदायी हुँदछ भन्ने मान्ने श्रमण हुन्। संस्कृत र प्राकृतमा श्रमण, समन, शमन शब्द प्रयोग भएका छन्। श्रमण भनेको श्रम गर्नु। समन भनेको समताभाव राख्नु, सबैलाई समान ठान्नु। शमन भनेको आफ्ना वृत्तिहरूलाई शान्त राख्नु। श्रमण परम्परा भारतमा प्राचीन कालदेखि जैन, आजीविक, चार्वाक् र बौद्ध दर्शनमा पाइन्छन्। पहिलो जैन तीर्थङ्कर ऋषभदेवका प्रमाण मोहनजोदड़ोका अवशेषमा पनि पाइएको छ।
आजीविक श्रमणहरू चौबीसौँ जैन तीर्थङ्कर महावीर र महात्मा बुद्धभन्दा अघि पनि थिए। नाङ्गै रहने र परिपरिव्राजकहरूजस्तै घुमिरहने आजीविकहरूले ईश्वर, पुनर्जन्म, पूर्वजन्म, कर्मकाण्ड मान्दैनथे। अशोकका नाति दशरथ राजा हुँदा अहिलेको बिहारको जहानावाद (प्राचीन नाम भेलावर) पहाडमा सातवटा गुफा बनाएर आजीविक श्रमणहरूलाई राखेका थिए। निर्वस्त्र रहने साधुहरू त नागा र दिगम्बर जैनहरू पनि हुन्छन्। नग भनेको पहाड हो- पहाडे साधु नागा। अलेक्जाण्डरको आक्रमणलाई प्रतिकार गर्ने यिनै नागा साधुहरू थिए नत्र भारतका युवा संन्यासी र भिक्षुहरू त भाग्नमै रक्षित ठानिरहेका थिए।
‘सम्राट् अशोकले धर्म ग्रहण गरेपछि बौद्ध धर्म श्रीलङ्कासम्म फैलिएको थियो। भारतमा बौद्ध धर्मलाई राजधर्मको प्रतिष्ठा दिएका साथै विभिन्न सत्कार्यले प्रभावित गरेका हुनाले अधिकांश जनता बौद्ध भए‘
बौद्ध धर्म पनि भारतको सनातन संस्कृतिभित्रकै श्रमण परम्पराबाट उत्पन्न भएको ज्ञान, धर्म र दर्शन हो। वैशाख शुक्ल पूर्णिमाकै दिन महात्मा बुद्धको जन्म, बुद्धत्वप्राप्ति (निर्वाण) र महापरिनिर्वाण (शरीर त्याग) भएका थिए। यसै दिन उनको जन्म येसु जन्मनुभन्दा ५६३ वर्षअघि कपिलवस्तुको लुम्बिनीमा भएको थियो । यसै दिन इ. पू. ५२८-मा ३५ वर्षको वयमा उनले गयामा निर्वाण पाएका थिए। यसै दिन इ. पू. ४८३-मा ८० वर्षको वयका हुँदा कुशीनगरमा उनको महापरिनिर्वाण भएको थियो। महापरिनिर्वाणपछि बुद्धको देह दाह गरिएपछि अस्थिका लागि महाजनपदीय राजाहरू भिडिनलागे। स्थिति साम्य गर्न द्रोण नामका ब्राह्मणले खरानीलाई आठ भाग पारेर मगधका राजा अजातशत्रु, वैशालीका लिच्छवि, कपिलवस्तुका शाक्य, अल्लकप्पका भुलि, रामग्रामका कोलीय, वेतद्वीपका ब्राह्मण, पावाका मल्ल र कुशीनगरका मल्लहरूबिच बाँड़ेपछि रहेको अस्थि दुई भाग गरेर पिप्पलीवनका मोरिय र द्रोणले आफूलाई राखे भन्ने कुरा महापरिनिव्वानसुत्तमा उल्लेख भएको छ। पछि अशोक चक्रवर्ती सम्राट् बनेपछि स्तुपहरूमा राखिएका अस्थि संसारभरिका ८४ हजार स्तुपमा राख्ने निर्णय गरे। अङ्ग्रेज पुरातत्त्वविद्हरूले फेलापारेको अस्थिको अंश महाबोधि सोसाइटी अब् इण्डियालाई दिएपछि सारनाथको मुलगन्धकुटीमा पनि राखिएको छ। बुद्धपूर्णिमा र कार्तिकपूर्णिमामा प्रदर्शनिका लागि निकालिँदछ।
महात्मा बुद्धको महापरिनिर्माणको अल्प समयपश्चात् उनका उपदेशहरूलाई सङ्गृहित गर्न र उनका पाठ वाचन गर्न संगीति (सम्मेलन) प्रथा स्थापित भयो। यसलाई धम्म संगीति भनिन्छ। संगीति भनेको सँग-सँगै गाउनु। स-साना संगीति त बौद्ध सम्प्रदाय र उपसम्प्रदायहरूमा कति हुन्थे कति। तर इतिहास प्रसिद्ध चारवटा संगीति छन् – १. राजगृहमा इ. पू. ४८३ राजा अजातशत्रुको राजाश्रयमा बुद्धका अनुयायी महाकश्यपको अध्यक्षतामा भएको थियो। यसमा बुद्धशिष्य आनन्द र उपालिले गाएका सुत्तहरू सङ्ग्रहित गरेर विनयसुत्त बनाइयो। २. बुद्धको पुण्यतिथिको शताब्दी वर्ष इ. पू. ३८३-मा वैशालीमा सर्वकामीको अध्यक्षतामा भएको थियो। तीनवटा पिटक ‘त्रिपिटक’ सङ्गृहित गरिएको यसै संगीतिमा हो। ३. तेस्रो बौद्ध परिषद् इ. पू. २५०-मा सम्राट् अशोकको संरक्षण र ज्येष्ठ भिक्षु मोग्गलिपुत्त-तिस्साको अध्यक्षतामा पाटलिपुत्रमा भएको थियो। अशोकले धर्म प्रचार गरेपछि सङ्घमा प्रवेश पाउनु सजिलो थियो। बुद्ध, धम्म र सङ्घको शरणमा जान्छु भनेर तिसरण उच्चारण गरेपछि बौद्ध भइहाल्द थिए। समर्थकहरूको आड़मा भ्रष्टाचारीहरू पनि पसेका थिए। सङ्घ विरोधी भ्रष्टाचारीहरूबाट धर्मलाई जोगाउन यो संगति राखिएको थियो। परिषद् राखेर अशोकले ६० हजार महासांगिक गुप्तचरहरूलाई निष्कासित गरेर पालि सुत्तहरूमाथि पुनर्मूल्याङ्कन गर्ने अनुमोदन गरे। ४. चौथो बौद्ध परिषद् कुषाण राजा कनिष्कको संरक्षणमा कश्मीरको कुण्डलवनमा इसाब्द ७२-मा वशुमित्रको अध्यक्षतामा भएको थियो। कनिष्कका प्रनितिधित्व महाकवि अश्वघोषले गरेका थिए।
तिब्बती धर्मेतिहासमा पद्मसम्भवका २५ विशिष्ट शिष्य प्रसिद्ध छन्। उनीहरूलाई विषयराज भनिन्छ। साधुपुरुष गुरु पद्मसम्भवलाई गुरु रिन्पोछे पनि भनिन्छ
सम्राट् अशोकले धर्म ग्रहण गरेपछि बौद्ध धर्म श्रीलङ्कासम्म फैलिएको थियो। भारतमा बौद्ध धर्मलाई राजधर्मको प्रतिष्ठा दिएका साथै विभिन्न सत्कार्यले प्रभावित गरेका हुनाले अधिकांश जनता बौद्ध भए। सनातन धर्मभित्रका शैव, वैष्णव, शाक्त, गाणपत्य, शौर्य आदि धर्मावलम्बीहरू बौद्ध बने। बौद्ध सङ्घमा प्रवेश गर्दा उनीहरूले आ-आफ्ना इष्ट देवी-देवता पनि लगेर पसे। यथास्थितिवादी बौद्धहरूले बहुवेद प्रविष्टि स्वीकार गरेनन् तर उदारवादी बौद्धहरूले सङ्घमा सजिलै स्वीकार गरे। हेर्दा हेर्दै बहुदेववादी र उदारवादीहरूको सङ्ख्या ह्वात्तै बढ़्यो। उनीहरू बलिष्ट बनिएको बोध गरे। आफूले मानेको विचारलाई महायान (ठूलो गाड़ी) भने अनि पुरानै विचारमा बस्ने स्थिरवादी अर्थात् थेरवादीहरूलाई हीनयान (थोत्रे गाड़ी) भने। स्थिरवादी हीनयानीहरूले बुद्धलाई गुरु वा महात्माको रूपमा स्वीकार गरेर प्रत्येक मानिस बुद्ध बन्नुसक्छ भन्ने बौद्ध शिक्षामा अडिग रहे तर बहुजन महायानीहरू बुद्धलाई नै देवता वा परमात्मा मानेर पूजा गर्न थाले। महायानले कुषाण आदि राजाश्रय पाएर बुद्धलाई देवता ठानी मूर्ति बनाएर वा चित्र बनाएर पूजा गर्न थाले अनि बुद्धलाई पूजा गरेमा बुद्धले आशीर्वाद दिन्छन् भन्ने कुरा प्रचार गरे। महायानको प्रचार हुनथालेपछि कुषाणकालदेखि बुद्धका कलापूर्ण प्रतिमाहरू बनाइन थाले। महायानको प्रचार मध्यएसिया, अफगानिस्थान, इरान, अरब, चीन, जापानसहित विभिन्न देशमा भयो। यसले फारसी जोरष्ट्री, अरबी जुडा र इसाई धर्मलाई पनि पूजापाठ, प्रार्थना पद्धति र जीवनशैलीका लागि प्रभावित गरेका प्रमाण पाइन्छन्। उदाहरणका लागि उनीहरूलाई महायानीहरूले नै धुप बाल्ने र घण्टी बजाउने प्रथा सिकाए। बुद्धविचार प्रचार गर्ने येसुले प्राणदण्डसम्म भोग्नुपऱ्यो। चौथो शताब्दीमा आउने फाहियान, सातौँ शताब्दीमा आउने हुएनसाङ र यिजिङले महायानी र थेरवादीहरू भारतमा मिलेर बसेको कुरा वर्णन गरेका छन्। ५औँ शताब्दीमा कुमार गुप्तको पालामा नालन्दा विश्वविद्यालय र ८औँ शताब्दीमा धर्मपालको पालामा विक्रमशीला विश्वविद्यालय खोलेर बौद्ध धर्मको उच्च शिक्षामा क्रान्ति आयो। गान्धार र मथुराशैलीमा विभिन्न मूर्तिहरू बनिए। मूर्तिशास्त्र र संगीतशास्त्रहरूका साथै ज्ञान-विज्ञानका विभिन्न अनुशासन विकसित भए।
भारतमा गुप्तकालदेखि नै बौद्ध धर्ममा तन्त्रवादको प्रविष्टि हुँदैथियो। नेपालमा लिच्छविकालमा महायान धर्मदर्शनले राजाश्रय प्राप्त गऱ्यो। लिच्छविहरूका एउटै परिवारमा परिवारसदस्य शैव, वैष्णव, शाक्त र बौद्ध भएका घटना छन्। शैव राजाहरूले बौद्धचैत्य निर्वाण गरेका र बौद्ध राजाहरूले हिन्दू मन्दिर बनाएका उदाहरण धेरै छन्। भारतको गुप्तकालजस्तै नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्णयुग भनिन्छ। इसाब्द ६०५-देखि ६२१-सम्म नेपालमा शासन गर्ने लिच्छवि राजा अंशुवर्मा शैव भएर पनि छोरी भृकुटीलाई बौद्ध दर्शनमा पारङ्गत बनाएका थिए। उनले संस्कृत व्याकरणविषयक ग्रन्थ पनि लेखेका छन्। नालन्दा विश्वविद्यालयका वैयाकरण चन्द्रवर्मालाई उच्चाध्ययनका लागि उनले अनुदान दिएका कुरा हुएन साङले समेत वर्णन गरेका छन्।
बोन धर्म मान्ने तिब्बतका प्रथम राजा स्रोङचङ गेम्पोसँग अंशुवर्माकी छोरी भृकुटीको बिहे भयो। नेपाली इतिहासकारहरूअनुसार बिहे भएर तिब्बत जाँदा उनले एउटा बुद्ध प्रतिमा पनि लगेर गएकी थिइन्। राजा गेम्पोले भगवान् बुद्धमाथि रुचि लिए। अहिलेको पाकिस्थानको स्वात उपत्यकामा जन्मिएका गुरु पद्मसम्भवलाई तिब्बतमा निम्त्याएर बौद्ध धर्मको शिक्षा दिन लाए। थालनीमा तन्त्रवाद मान्ने बोन धर्मी तिब्बतीहरूले बौद्ध दर्शन बुझ्न र पचाउन सकेनन्। पद्मसम्भव आफैले पहिले बोन धर्म दर्शन अध्ययन गरे। बोन सम्प्रदाय र महायान बौद्ध सम्प्रदायको सम्मिश्रणबाट उनले बौद्ध दर्शन प्रचार गरे। यसरी वज्रयान बौद्ध दर्शन अस्तित्वमा आयो।
तिब्बती धर्मेतिहासमा पद्मसम्भवका २५ विशिष्ट शिष्य प्रसिद्ध छन्। उनीहरूलाई विषयराज भनिन्छ। साधुपुरुष गुरु पद्मसम्भवलाई गुरु रिन्पोछे पनि भनिन्छ। ञिङमा सम्प्रदायका अनुयायीहरूले उनलाई दोस्रो बुद्ध पनि मान्दछन्। वज्रयान बौद्ध धर्म मान्नेहरू तिब्बत, मङ्गोलिया, भोटाङ, नेपाल, लद्दाख, अरुणाचल प्रदेश, हिमाचल प्रदेश, सिक्किम, दार्जीलिङ-डुवर्स, रुसको काल्मिकिया, तूवा, बुर्यातिया तथा उत्तरी चीनमा प्रचलित छ। वज्रयान बौद्ध धर्मका ५ प्रमुख सम्प्रदाय छन् – ञिङमा, काग्योत, सक्या, गेलुङ, जोनङ। ञिङमापाहरूले दले लामालाई धर्माधिपति मान्दैनन्। ईश्वर-आत्मासहित जीवन जगत्सम्बन्धी कतिपय प्रश्नमा भगवान् बुद्ध मौन रहेका थिए। उनको मृत्युपछि बौद्ध दार्शनिकहरूले अनुत्तरित विषयहरूमाथि विमर्श गर्ने क्रममा चारवटा बौद्ध न्याय स्थापित भए। जैन न्यायजस्तै बौद्ध न्याय पनि अवैदिक न्याय हो। बौद्ध न्याय चारवटा सम्प्रदायमा विभक्त छन्। वैभाषिक, सौत्रान्तिक, योगाचार अनि माध्यमिक। यिनीहरूमध्ये प्रथम दुई हीनयानका तथा अन्तिम दुई महायानअन्तर्गत पर्दछन्। वैभाषिकले पदार्थलाई विषयी र विषयमा बाँड़ेर संस्कृत र असंस्कृत धर्मबारे अरहत् पद प्राप्त गरेमा दुःखाभाव रूप निर्वाणलाई जीवनको परम लक्ष्य मान्दछ। कात्यायनीपुत्र, वसुबन्धु, दिङ्नाग, यसोमित्र, सङ्घभद्र आदिले वैभाषिक सम्प्रदायलाई न्याय दिएका छन्। सौत्रान्तिक न्यायले बुद्धका सूत्रात्मक वचनलाई महत्त्व दिएर ज्ञानलाई प्रत्यक्ष र ज्ञेयलाई अतीन्द्रिय एवम् ज्ञानानुमेय मान्दछ। श्रीलात, बुद्धदेव, यसोमित्र आदि बौद्ध पण्डितहरूले सौत्रान्तिकमाथि धेरै ग्रन्थ लेखेका छन्। योगाचारले विज्ञानवादलाई दार्शनिक सिद्धान्तको रूपमा स्वीकार गर्दछ अनि विज्ञान मात्र एउटै सत्य वस्तु हो भन्दछ। मैत्रेयनाथ, असङ्घ, वसुबन्धु, दीननाथ आदिले योगाचारलाई विस्तार गरेर चित्त र मनबारे विशद् चर्चा गरेका छन्। पछि योगाचारकै विस्तृत रूप वैदिक दर्शन पतञ्जलिको योगसूत्रमा पाइँदछ। माध्यमिक न्यायले शून्यवादलाई दार्शनिक सिद्धान्तको रूपमा स्वीकार गर्दछ। पारमार्थिक तत्त्व शून्यमात्र हो भन्दछ। यस दर्शनका प्रतिष्ठाता नागार्जुन हुन्। आर्यदेव, बुद्धपालित, भावविवेक, चन्द्रकीर्ति आदिका ग्रन्थ परिशीलन गरेमा माध्यमिक न्याय थाहा पाइँदछ।
अशोकको पालादेखि ९औँ शताब्दीसम्म सम्पूर्ण दक्षिणेसिया बौद्ध राष्ट्र थियो। यद्यपि समयको खेलमा बौद्ध धर्मले धेरै उत्थान र पतनको यात्रा गर्न पऱ्यो। अन्तिम मौर्य सम्राट् बृहद्रथलाई मारेपछि ब्राह्मण राजा पुष्यमित्र शुङ्गले बौद्धहरूमाथि उति सहानुभूति राखेनन्। यूनानी शासक र विद्वान्हरू बौद्ध धर्ममा आकर्षित भएको र बौद्ध मठहरूतिर यवनहरू बसेका शुङ्गले सहेनन्। ग्रीसमूलका यूनानी राजा मिनान्डर र नागसेनको प्रश्नोत्तर ग्रन्थ ‘मिलिन्दपुण्ह’-जस्ता ग्रन्थ रचिएर बौद्ध धर्म प्रचार भएकोमा शुङ्गलाई ईर्ष्या थियो।
कनिष्कको पालामा बौद्ध संगति भएपछि धेरै समयसम्म संगति नहुनाले बौद्धहरू वैदिक धर्ममा जस्तै कर्मकाण्डमा लागे। वैदिक धर्म ब्राह्मण केन्द्रित भएजस्तै बौद्ध धर्म विहार केन्द्रित हुन गए। गुप्तकालमा राजाश्रय पाएर ब्राह्मण धर्म पनि धेरै प्रचारमा आयो। ७औँ शताब्दीमा हर्षवर्धनले बौद्ध धर्मलाई सहयोग गरे पनि बौद्धहरू कर्मकाण्डी बनिसकेका थिए। बौद्ध धर्मले आफ्नो चिह्नारी हराउँदै गएको बेला कुमारील भट्ट र आदि शङ्करले मीमांसा र वेदान्त दर्शन प्रतिपादन गरेर वैदिक धर्मलाई बड़ाए। ९औँ शताब्दीमा १२ वर्षे शङ्कराचार्यले ९६ वर्षीय बौद्ध भिक्षुलाई शास्त्रार्थमा पराजित गरेपछि शैव र वैष्णवको मनोबल बड्यो। शङ्कराचार्यको शाङ्करीसेनाले बौद्धहरूलाई पानीखेदो गरे। गुप्तकालमा हुणहरूको आक्रमण हुँदा बौद्ध मठ र विहारहरूको धेरै क्षति भए। हुणसित भएको युद्धमा नालन्दा विश्वविद्यालय बनाउने कुमार गुप्त मारिए। पछि उनको छोरो पनि हुणसँगै युद्ध गर्दा मारिए। मुसलमान आक्रमणकारी मोहम्मद बिन काशी, मोहम्मद गजनवी तथा मोहम्मद गोरी इत्यादिको आक्रमणले त भारतका बौद्ध केन्द्रहरूलाई नष्टभ्रष्ट नै पारिदियो। मोगल कालमा वर्ण व्यवस्थाले प्रताड़ित शूद्रहरू बौद्ध बन्ने ढोका पाएनन्। उनीहरू इस्लाममा आश्रित भए। पुनर्जागरणपछाडि यूरोपमा पसल चलाउन नसकेका इसाई धर्मप्रचारकहरू यूरोपेली उपनिवेशकहरूको अशस्त्र सेनाका रूपमा भारतमा आए। गाँस, बास, कपासको प्रलोभन देखाएर भारतीयलाई इसाई बनाउन लागे। त्यसबेला अघि आइदिने बौद्ध प्रचारक कोही थिएनन्।
गुप्त र वर्द्धन साम्राज्य सातौँ शताब्दीदेखि पतन भएपछि भारतमा बौद्ध धर्मको प्रभाव समाप्तप्राय: भयो। बौद्ध धर्मलाई समर्थन गर्ने अन्तिम ठूलो पाल साम्राज्य बाह्रौँ शताब्दीमा शेष भयो। एघारौँ शताब्दीका फारसी यात्री अल-बिरूनीले ‘ब्राह्मण र श्रमण बौद्धबीच ‘सौहार्दपूर्ण द्वेष’ थियो भनी लेखेका छन्। त्यत्ति बेलै भारतीयमा शैवहरूले प्रचारमा ल्याएको वेदान्त विचार, वैष्णव भक्ति आन्दोलन, अध्यात्म रामायण र भागवतको प्रचारले गति लिँदा बौद्ध विहार र विचार शिथिल सिद्ध भयो। मोगल र अङ्ग्रेजी शासनमा पनि लद्दाखीजन र नेपाली नेवारजनले भने बौद्ध धर्म बचाएरै राखे। प्राचीन कालदेखि नेपालमा हिन्दू र बौद्धहरूको सहअस्तित्व थियो। मल्लकालको अन्त्यतिर २४ घर नेवारलाई चिनिञा केपुचिन पादरीहरूले इसाई बनाइसकेका थिए। पृथ्वीनारायण शाह आएपछि २४ घरे नेवारहरूलाई देशनिकाला गरिदिए। मुसलमान हुँदैगरेका नेवारहरूलाई बर्दियामा खेदिदिए। इ १८४६-मा राणा शासन स्थापना भएपछि बौद्ध नेवारहरूका बौद्ध सङ्घहरूमा नियन्त्रण गरे। भजनसम्म लुकेर गाउनुपर्थ्यो। यस्तो स्थितिमा पनि नेवारहरूले बौद्ध धर्म बचाइराखे। समयको खेलमा संसारभरिकै बौद्धहरूको दौर्बल्य भन्नु नै सहिष्णुता र प्रतिकार शून्यता हो। सशस्त्र विरोधीलाई प्रतिकार गर्ने क्षमता नहुनाले बौद्धहरू पराजित बनेका इतिहास छ। बौद्ध कथाहरूमा प्रतिनायक हुँदैनन्। बौद्ध रामायण दशरथ जातकमा रावण पात्र नै छैन। बौद्धकथाले पनि युद्ध र प्रतिकार सिकाएका हुँदैनन्। शङ्कराचार्यले शाङ्करी सेना बनाएजस्तो बौद्धले सांग्रामिकतामा कहिल्यै ध्यान दिएन। तिब्बतसहित भारतकै इतिहासमा पनि बौद्धले प्रतिकार नगरेर भाग्नुमै रक्षा सम्झेको इतिहास साक्षी छ। गीताजस्तो धर्मरक्षाका ग्रन्थ बौद्ध विद्वान्हरूले रचेनन्। युद्ध पनि जीवनको अभिन्न तत्त्व हो तर शान्त साधन असफल भएमा युद्ध अन्तिम उपाय हो भन्ने बौद्धले जानेनन्। युद्ध रोक्ने कैञौ प्रयास असफल भएपछि युद्ध गर्ने कृष्णको कथाले भारतमा धर्मरक्षक शुङ्ग, विक्रमादित्य, पृथ्वीराज चौहान, महाराणा प्रताप, छत्रपति शिवाजी जन्माएजस्तै बौद्ध कथाले जन्माएन। ओशोले ‘बुद्ध अन्त्य भएपछि कृष्ण जन्मन्छ’ त्यसै भनेका होइनन्।
मोगलकालदेखि हिमालय क्षेत्र अनि दक्षिण भारतका केही अंशमा पृथक अवशेष छाड़ेर बौद्ध धर्म भारतबाट लुप्तप्राय: भएको थियो। सौभाग्यवश १९औँ शताब्दीदेखि विदेशी रुचि र श्रीलङ्काको बलले बौद्ध धर्मको पुनरुद्धार आरम्भ भयो। महाबोधि समाज, विपश्यना आन्दोलन, राहुल सांकृत्यायनको अन्वेषण अनि भीमराव आम्बेडकरद्वारा संचालित दलित बौद्ध आन्दोलनले बौद्ध धर्मरक्षा कार्यले गति लियो। तिब्बती डायस्पोराको भारत आगमनसँग तिब्बती बौद्ध धर्ममा वृद्धि हुनथाल्यो। १९५० मा तिब्बतमा चीनी हस्तक्षेपपछि भारतमा निर्वासित तिब्बती सरकार बन्यो। सत्य जेसुकै भए पनि यसले बौद्ध धर्म भनेको तिब्बती धर्म पो रहेछ भन्ने सोच धेरै मान्छेमा जाग्यो।
यता भारतका धेरै बौद्ध मन्दिर हिन्दू देवलयमा परिणत भइसकेका थिए। वर्तमानका नाम चलेका मठ-मन्दिरहरूतिर अझ बौद्ध अवशेष पाइन्छन्। बिहार-बङ्गालका बुद्धका मूर्तिलाई साड़ी लगाइदिएर देवीका रूपमा पुजिन्छन्, स्तूपहरू शिवलिङ्ग बनाइएका छन्। कति बुद्ध हनुमान र वासुदेव बनिसकेका छन्। समयको खेल। हेर्दा हेर्दै बौद्ध धर्म अनेक दूरवर्ती देशमा फैलिए पनि आफ्नै उत्पत्ति स्थल भारतमा लुप्तप्रायः हुनु दुर्भाग्यजनक स्थिति थियो। आफ्नै इतिहास भुलेका भारतीयले बौद्ध धर्मलाई विदेशी धर्म मान्न थालेको बेला श्रीलङ्काका दूरदर्शी धर्मगुरु अनागरिक धर्मपाल र अङ्ग्रेज पत्रकार तथा कवि सर एड्विन अर्नोल्डले १८९१-मा बोधगयाबाट महाबोधि सोसाइटी अब् इण्डिया स्थापना गरे। त्यसपछि भारतीयलाई आफ्नो सांस्कृतिक धरोहर बौद्ध धर्म चिनाउने प्रयास गरे।
१८७५-मा मेदामे ब्लावात्स्की र कर्नल ओल्कोटले न्यू योर्क नगरमा थियोसोफिकल सोसाइटी खोलेपछि बौद्ध धर्म-दर्शनमा सहानुभूतिशील भई १८८०-मा श्रीलङ्का आएर ३०० बौद्ध पाठशाला खोले। उनीहरूबाट प्रभावित भएर हेवावितार्ने नामका युवक भिक्षु बनेर अनागरिक धर्मपाल बने। १९३० मा ज्ञानजिज्ञासु, वेदान्ति, आर्यसमाजी, कृषक नेता, साम्यवादी चिन्तक दामोदर साधु (परमहंस मिश्र) श्रीलङ्का पुगेर बौद्ध धर्म ग्रहण गरेर महापण्डित राहुल सांकृत्यायन बने। हिन्दूपन्थमा व्याप्त कुरीति र छुआछुत प्रथाले विरक्त विद्वान्, बारिस्टर डा. भीमराव रामजी अम्बेडकर ३ लाख शूद्रहरूसहित नागपुर नगरमा १४ अक्टोबर १९५६-मा एउटा औपचारिक सार्वजनिक धर्मान्तरण समारोह आयोजन गरीकन बौद्ध धर्मावलम्बी बने। त्यसपछि उनले अरू ५ लाख अनुयायीलाई बौद्ध धर्ममा परिवर्तन गराए। आम्बेडकरवादी बौद्धहरूको जीवनशैली हिन्दूको जस्तै छ तर आफूलाई भीमयानी बौद्ध मान्दछन्। सांकृत्यायन र अम्बेडकरको बौद्ध धर्ममा प्रविष्टिपछि भारतका धेरै विद्वान्हरूले बौद्ध धर्ममा दीक्षा लिसकेका छन्। देश विदेशका विभिन्न विश्वविद्यालयहरूमा पालि र बौद्ध अध्ययन केन्द्र अनि विभागहरू स्थापना भइसकेका छन्। बुद्ध र बौद्धका समाज, साहित्य, इतिहास, संस्कृति र दर्शन, विज्ञान र अरु ज्ञानानुशासनमा राम्रा राम्रा ग्रन्थहरू प्रकाशमा आइसकेका छन् अनि शोधकार्य भइरहेका छन्।
समयको खेलमा ‘म मात्र बुद्ध होइन, कोही पनि बुद्ध हुन सक्दछ’ भनी ‘अप्प दीपो भव’ मन्त्र दिने बुद्धलाई मानिसले पूजा नगरी सकेनन्। कर्मकाण्डको विरोध गर्ने बुद्धकै धर्ममा कर्मकाण्ड नगरी नसक्ने हुन पनि विडम्बना नै हो। ‘मूर्तिपूजा नगर्नू’ भन्ने बुद्धकै मूर्ति संसारमा सबैभन्दा धेर छ। बुद्ध धर्म र बुद्धसित लिनुदिनु केही नभएकाले पनि बुद्धको मूर्ति घरमा सजाएर राख्दछन् किनभने बुद्ध ज्ञानका प्रतीक मात्र नभई बुद्धको मूर्ति पनि शान्तिको आभा प्रसारित गर्न सक्षम बनिरहेको हुँदछ।









