सोनादा: दार्जीलिङ फुटबल सोसाईटीले विगत केही समयदेखि दार्जिलिङ पहाड़मा फुटबल खेलको उन्नति र प्रबर्ध्दनको लागि धेरै कार्यहरू गरिरहेका छन्। दार्जिलिङ फुटबल सोसाईटीले पहाड़मा रहेका युवा फुटबल खेलाड़ीहरूलाई देशको अग्रणी फुटबल क्लबहरूमा खेलाउन धेरै सक्रिय रूपमा कार्य गरिरहेका छन्। यस क्रममा भारतको विभिन्न अग्रणी फुटबल क्लबहरू बोलाएर चयन क्याम्प आयोजना गर्दै आइरहेका छन्। यसै क्रममा यसपाली पनि दार्जीलिङ फुटबल सोसाईटीले दार्जिलिङ पहाड़मा फुटबल चयन क्याम्पको आयोजना गरिरहेका छन्। यसपाली उक्त चयन क्याम्पमा राजस्थान फुटबल क्लबका पदाधिकारीहरू आएर फुटबल खेलाड़ीहरूलाई चयन गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त फुटबल चयन क्याम्प आगामी १ र २ जूनको दिन दार्जीलिङको लेबोङस्थित गोर्खा स्टेडियममा गरिने भएको र उक्त चयन क्याम्प अण्डर १५ र अण्डर १७ का खेलाड़ीहरूलाई लिएर गरिने भएको दार्जिलिङ फुटबल सोसाईटीको मुख्य कोच लाक्पा शेर्पाले बताएका छन्। उनले बताए अनुसार दार्जिलिङ फुटबल सोसाईटीको आयोजनामा दार्जिलिङ पहाड़को फुटबललाई उन्नति गराउन भारतको विभिन्न फुटबल क्लबहरू बोलाएर चयन क्याम्प आयोजना गर्दै आइरहेको छ। आफुहरूले दिल्ली, बंगलोर, कोलकोता, झारखण्ड र यसपाली राजस्थानका फुटबल क्लबलाई बोलाइएको अनि भविष्यमा पनि विभिन्न अग्रणी फुटबल क्लबहरूलाई ल्याएर कोचिङ क्याम्प साथै चयन क्याम्प आयोजना गरिने अनि युवा फुटबल खेलाड़ीहरूलाई मौका दिइने बताएका छन्। उनले बताए अनुसार गत महिना बंगलोरको किक् स्टार फुटबल क्लबद्वारा गरिएको चयन क्याम्पमा दार्जिलिङ पहाड़को १५४० जनाले भाग लिएको र ८०-९० जना चयन गरिएको अनि उनीहरू फाईनल सेलेक्शनको लागि आगामी १२ र १३ जूनको दिन बंगलोर जाने भएको पनि जानकारी गराएका छन्। दार्जिलिङ फुटबल सोसाईटीकोको तर्फबाट लाक्पा शेर्पाले दार्जिलिङ पहाड़को फुटबललाई उन्नति गराउन हामीले लगातार कार्य गरिरहेको र भविष्यमा पनि ये कार्य जारी रहने साथै यहाँको युवा फुटबल खेलाड़ीहरूलाई देशको अग्रणी फुटबल क्लबहरूमा खेलाउन धेरै सक्रिय रूपमा कार्य गरिरहेको पनि बताएका छन्।