झापा: जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रम आजदेखि काठमाडौंको चन्द्रागिरिमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यो कार्यक्रमलाई ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ नाम दिइएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे। संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाज, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता छ।
कार्यक्रममा सहभागी हुन बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरी, भुटानका कृषि तथा पशुपक्षी मन्त्री ल्योन्पो योन्टेनसहित २५ देशका प्रतिनिधिहरु काठमाडौं आएका छन।
विभिन्न सत्रमा विज्ञहरुको प्रस्तुती र सहभागीहरुबीच छलफल हुने कार्यक्रम छ। पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटासन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा प्रस्तुती तथा छलफल हुने छ।
दोस्रो सत्रमा ‘प्रकृतिमा आधारित पर्वतीय उत्थानशीलताका उपायहरू’मा केन्द्रित भएर छलफल हुने छ। यो सत्रमा जनता, जलवायु नीति र समृद्धिका उपायहरू, स्थानीय नेतृत्वमा जलवायु अनुकूलन र जलवायु न्याय, लैंगिक समानता र स्थानीय समुदायका आवाज समावेश गरिने छ।
तेस्रो सत्रमा ‘पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी’ गरी स्वच्छ र हरित ऊर्जामा लगानी वृद्धि गर्ने, जलवायु वित्तलाई सहज र सघन बनाउने तथा अन्तर्राष्ट्रिय सहयोग एवम् क्षेत्रीय साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल हुने छ।
अन्तर्राष्ट्रिय संवाद कार्यक्रमबाट संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा)को ६०औं सत्रमा पेश गरिने पर्वतीय समस्या समाधानको मार्गचित्र र रणनीति तयार पारिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित कार्यलाई सुदृढ तुल्याउने उद्देश्य समेत राखिएको छ।यस संवादबाट जलवायु परिवर्तनको वार्ताको क्षमता अभिवृद्धि गर्ने, जलवायु अनुकूलन र न्यूनीकरण कार्यका लागि आवश्यक पर्ने स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई दबाब पुग्ने वन मन्त्रालयको विश्वास छ।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताए। अन्तर्राष्ट्रिय विज्ञ संवादलाई बुधबार यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताएका छन। “पर्वतीय अर्थतन्त्र कृषि, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारजस्ता जलवायु संवेदनशील क्षेत्रहरूमा परेको खराब असरका कारण पर्वतीय समुदाय र पारिस्थितिक प्रणालीमा सबैभन्दा खराब जलवायु प्रभाव देखिएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने , “स्रोतहरूमा आएको कमी, उत्पादन र उत्पादकत्वमा घट्दो क्रम एवम् यहाँका वासिन्दाहरू संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पुर्याएको छ।”










