चौथोपल्ट आईपीएल फाइनलमा पुगेर बलरहरूका प्रशंसा गरे केकेआर-का कप्तान श्रेयसले

IMG-20240522-WA0122.jpg

अहमदाबाद: कलकत्ता नाइट राइडर्स (केकेआर)-ले यहाँको नरेन्द्र मोदी स्टेडियममा सनराइजर्स हैदराबादलाई ८ विकेटले सजिलै पराजित गरी आईपीएल २०२४-को फाइनलमा स्थान बनायो। आईपीएलको इतिहासमा केकेआर-को यो चौथो फाइनल हुनेछ, जसमा टीमले दुईपल्ट खिताब जितेको छ। फाइनलको टिकट हासिल गरेपछि केकेआर-का कप्तान श्रेयस अय्यरलाई खुशी देखियो अनि उनले यस जीतको श्रेय आफ्ना बलरहरूलाई दिए। श्रेयसले भने, जीतले खुशी छु कारण मैदानमा ओर्लिएर सबैले आ-आफ्नो जिम्मेवारी कुशलताको साथ निर्वाह गरे। म यस प्रदर्शनसँग खुशी छु। एउटा राज्यदेखि अर्को राज्यमा लगातार यात्रा गर्नु सजिलो हुँदैन। यसैकारण वर्तमानमा रहनु महत्त्वपूर्ण हुन्छ। मैदानमा हामी एकार्काको निम्ति उभियौं। केकेआर-का कप्तानले बलरहरूका प्रशंसा गर्दै भने, प्रत्येक बलरले जसरी हरेक मौकाको सदुपयोग गरे त्यो सराहनीय रह्यो। उनीहरूका मानसिकता सदा असाधारण रह्यो। उनीहरूले लगातार विकेट हासिल गरे, जुन म्याच जित्न जरूरी थियो। बलिंग लाइन अप्-मा विविधता रहे तपाईंको काम सजिलो हुन्छ। यसबाहेक गुरबाजले हामीलाई प्रभावशाली शुरुवात दिलाए अनि सुनिल नारिनले त्यसलाई अघि बढ़ाए। त्यसपछि मीडलअर्डरमा हामीले त्यसलाई अघि बढ़ायौं। म्याचमा श्रेयस अय्यरको साथमा भेंकटेश अय्यरले पनि अर्द्धशतक बनाए। श्रेयसले भेंकटेशबारे भने, हामी दुईबीच केवल एउटा फरक रहेको छ। भेंकटेशले तमिल बोल्न सक्छन् भने म केवल बुझ्न सक्छु। उनी मसँग तमिलमै कुराकानी गर्छन् अनि म हिन्दीमा जवाफ दिन्छु। अब हामीले फाइनलमा पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने सुनिश्चित गर्नु पर्नेछ। उल्लेखनीय छ, केकेआर पहिलोपल्ट २००९-मा फाइनलमा पुगेको थियो। त्यस समय टीमले डेक्कन चार्जर्स विरुद्ध फाइनलमा हारको सामना गर्नु परेको थियो। त्यसपछि चाहिँ केकआर-ले गौतम गम्भीरको कप्तानीमा २०१२ र २०१४-मा आईपीएल खिताब जितेको थियो। आईपीएलमा सर्वाधिक १० पल्ट फाइनल खेल्ने रेकर्ड चाहिँ चेन्नई सुपर किंग्सको नाममा रहेको छ।
म्याचको कुरा गर्दा मंगलवार राति टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्स हैदराबादको टीम १९.३ ओभरमा १५९ रन बनाएर अलआउट भयो। टीमलाई ट्रेविस हेड र अभिषेक शर्माको जोड़ीबाट विध्वंशी शुरुवातको आशा रहेको थियो तर मिचेल स्टार्कको अगुवाईमा केकेआर-का बलरहरूले सनराइजर्सको शीर्ष क्रमलाई तहसनहस पारे। यसमा विशेषगरी स्टार्कले आफ्नो पहिलो स्पेलमै हेड, नितिश कुमार रेड्डी र शाहबाज अहमदलाई आउट गरे। यसमा हेड र शाहबाजले त खाता पनि खोलेनन् जबकि नितिशले ९ रन बनाए। अभिषेक पनि ३ रन बनाएर वैभव अरोड़ाको शिकार बने। यसरी केवल ३९ रनमा ४ विकेटको पतनपछि सनराइजर्सले म्याचलाई नियन्त्रणमा राख्न सकेन। राहुल त्रिपाठीले ५५ रन बनाएर परिस्थिति सम्हाल्ने प्रयास गरे पनि उनलाई कसैले लामो समयसम्म साथ दिन सकेनन्। त्रिपाठीले ३५ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। हेनरिक क्लासेनले ३२ र कप्तान प्याट कमिन्सले ३० रनको योगदान दिए। केकेआर-का बलरहरूमा स्टार्क बाहेक स्पिनर वरुण चक्रवर्तीले २ विकेट लिए। त्यसपछि केकेआर-ले दुई अय्यर (श्रेयस र भेंकटेश)-को अर्द्धशतकको सहायताले १३.४ ओभरमै केवल २ विकेटमा १६४ रन बनाएर म्याच जित्यो। कप्तान श्रेयसले २४ बल खेलेर अविजित ५८ र भेंकटेशले २८ बल खेलेर ५१ रन बनाए। यी दुवैले ५-५ वटा चौका र ४-४ वटा छक्का लगाए। यसबाहक रहमानुल्लाह गुरबाजले २३ र नारिनले २१ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement