झापा: मोरङको उर्लाबारी नगरपालिका- ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। अस्पतालमा कार्यरत मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका-१ का २५ वर्षीय ब्रोदिनस बुढाथोकी र अनिलकुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन्। मई २०मा दिउँसो खाजा खाएर फर्किने क्रममा डा.बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, सितलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ। उनीहरुले डा. बुढाथोकी माथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको उनले बताए। हस्पिटलमा उपचारको विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ। ‘केही दिन अगाडि डा. बुढाथोकीलाई हामी लोकल मान्छे हो। हामीलाई छिटो लाइनमा नबसी उपचार हुनुपर्छ भन्दै आएका थिए। उनीहरु मध्ये सितलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे। मैले यो डाक्टर बस्ने कुर्सी हो। यहाँ नबसिदिनुहोला भन्दै बाहिर आउनु म देखाइदिन्छु भन्दै गए। पछि खाजा खाएर फर्किन क्रममा म माथि आक्रमण भयो,’ डाक्टर बुढाथोकीले सुनाए। ट्रमा सेन्टरमा उनी २०२३ सितम्बरमा नियुक्त भएका हुन्। त्यसैगरी मई २०मा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन्। इलाका पुलिस कार्यालय उर्लाबारीका प्रमुख इन्स्पेक्टर देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए। चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपिडी सेवा एक घण्टा बन्द गर्ने भएको छ। बुधबार अस्पतालको ओपिडी सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले निर्णय गरेको हो। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरु असुरक्षित भएको र शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले ओपिडी बन्द गर्ने निर्णय मंगलबार गरेका हुन्।