खोटाङको एक सिंगो परिवार नै सरकारी सेवामा

IMG-20240522-WA0033.jpg

झापा: खोटाङ साकेला गाउँपालिका-५ कि ज्ञानुका दाहाल नेपाल पुलिसको प्राविधिक तर्फ इन्स्पेक्टर भइन्। पुलिस सेवामा भर्ना भएसँगै हर्षित छिन् ज्ञानुका। उनी सँगै उनको परिवारमा खुसीको उचाइ झनै चुलिएको छ। ज्ञानुकाको सफलतालाई पर्खिरहेका बुबा नारायण प्रसाद आमा पवित्रादेवीलाई आनन्दको सीमा छैन। परिवारकै कान्छी छोरी ज्ञानुका हाल तालीममा थप मेहनत गरिरहेकी छिन्। उनका दिदी दाजु, भाउजु र भिनाजु सबै सरकारी सेवामै छन्। परिवारका सबै सदस्य सरकारी सेवामा लागेपछि धेरै आनन्द भएको नारायण प्रसाद बताउँछन्। स्व.बालाकृष्ण दाहाल र स्व. वेदमाया दाहालका २ छोराका ६ जना नातिनातिना सरकारी सेवामा प्रवेश भएको उनले बताए ।उनका अनुसार ठुली छोरी शोभा दाहाल सङ्घीय निजामती सेवामा शाखा अधिकृत पदमा नाम निकालेर कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत छिन्। शोभाका श्रीमान् उमेश भट्टराई नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत छन्। नारायण प्रसादका छोरा बाबुराम दाहाल स्थानीय सरकारी सेवा अन्तर्गत धरान उपमहानगरपालिकामा प्रशासन महाशाखामा कार्यरत छन् भने बुहारी सुनिता भट्टराई धरानकै सामुदायिक विद्यालय श्री भगवती आधारभुत विद्यालय धरान -१६ मा नि.मा शिक्षक हुन्। सिभिल इन्जिनियरिङमा मास्टर्स उत्तीर्ण गरेकी माइली छोरी सरला दाहाल सडक विभागमा कार्यरत छिन्। सरलाका श्रीमान् मनोज चौँलागाई पेसाले सिभिल इन्जिनियर हुन्। उनको आफ्नै निजी कन्स्ट्रक्सन र ट्रेडिङ कम्पनी छ। नारायण प्रसादका भतिज विपिन दाहाल प्रा.वि. शिक्षक पदमा नाम निकालेर ओखलढुङ्गामा सिफारिस भएका छन्। कान्छो भतिज निरोज दाहाल हाल नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रमा सुपरभाइजर पदमा काम गरिरहेका छन्। नारायण प्रसाद आफैँ नेपाल न्याय सेवामा सरकारी वकिल (मुख्य न्यायाधिवक्ताको कार्यालय, विराटनगर) मा कार्यरत छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement