झापा: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकार सञ्चालन ऐन नियम कार्यविधि अनुसार क्षेत्राधिकार उल्लङ्घन गर्दै प्रमुख प्रशासकीय अधिकृतले गर्ने काम समेत आफै गर्न थालेका छन्। मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा लिन बाध्य बनाई उपमहानगपािलकाको प्रशासकीय कार्यहरू, विभिन्न कार्यक्रमहरूको सम्झौता गर्ने कार्यहरू समेत आफै गर्न थालेका छन्। मेयर साम्पाङले हिजै मई २१ मगंलबार भौतिक पूर्वाधार तथा यातायात कार्यालय सडक विभाग चाकुपाट ललितपुरलाई नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर दक्षिण जोगवनी(किमाथाङ्का जोडने कोशी राजमार्ग सडकको मापदण्ड ७२ फिट कायम गर्न आफै पत्र लेखेका छन्। नेपाल सरकारको निर्णयलाई स्थानीय सरकारले उल्लङ्घन गर्न नमिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा देवी निरौलाले अडान लिएकी थिइन्। त्यही निहुँमा मेयर साम्पाङले प्रशासकीय अधिकृत निरौलालाई बिदामा बस्न अनुमति दिँदै आफै पत्र लेखेका हुन ।प्रमुख प्रशासकीय अधिकृत निरौलाले नेपाल सरकारबाट तोकिएको २०५ फिटको मापदण्ड उल्लङ्घन गर्दै मेयर साम्पाङले राजमार्गको मापदण्ड ७२ फिट कायम गरी सडकको नक्सा प्रमाणीकरण गर्न र इजाजत दिनलाई दबाब दिँदा निरौलाले सरकारको निर्णयलाई उल्लङ्घन नगर्ने अडान लिएकी थिइन। मेयर साम्पाङको कार्यशैलीकाबिषयमा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले भने ‘खोइ अचम्म लागि रहेको छ, प्रचलित कानुन र व्यवस्था अनुसार पद बहाली गरेको नेतृत्वले कानुन र व्यवस्था बुझ्नु पर्ने हो।’ कानुनविद्हरूले मेयर साम्पाङको कार्यशैली स्थानीय सरकार सञ्चालन विपरीत भएको बताएका छन्। कानुन विज्ञसँग सम्पर्क गर्दा स्थानीय सरकार सञ्चालन ऐन अनुसार मेयरले आफै कुनै पनि योजना तथा कार्यक्रम सम्झौता गर्न नमिल्ने बताए।