झापा: २०१६ अप्रिलदेखि २०१८ सितम्बरभित्र जन्मिएका बालबालिकाको पोलियोविरुद्धको खोप छुटेको हुन सक्छ।
सरकारले त्यस्ता बालबालिकाका लागि जेठ १३ देखि दुई साता देशैभरि खोप अभियान सञ्चालन गर्दै छ। नजिकैको खोप केन्द्रबाट आफ्ना बालबालिकालाई खोप दिलाउन परिवार कल्याण महाशाखाको खोप शाखाले सम्बन्धित सबैलाई अपिल गरेको छ।
यही मई २६देखि जुन ८सम्म दुई साता चल्ने अभियानका क्रममा पहिला छुटेका आठ वर्षमुनिका बालबालिकालाई नछुटाउन अपिल गरिएको हो। ‘यो खोप अभियान छुटेकाहरूका लागि मात्र हो। कोही बालबालिका नछुटून् भन्ने उद्देश्य हो,’ परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले भने।