झापा: नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले चीन दौडाहामा रहेका पर्यटन व्यवसायीहरूले मई २०सोमबार चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन्। नेपाली राजदूतावासमा आयोजित ‘नेपाल सेल्स मिसन २०२४’ एण्ड बिटूबी कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सहित पाटा नेपाल च्याप्टर, ट्राभल एजेन्सी, होटलहरु र चिनियाँ उद्यमीहरूको सहभागिता थियो।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित देशबाट स्तरोन्नति हुन चाहेकाले आर्थिक विकास अपरिहार्य रहेको र यसका लागि पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको सुनाए। उनले भने , ‘हामी ट्राभल तथा टुर अपरेटर्सहरूलाई नेपाल र चीनबीच पर्यटन उद्योगमा सहकार्यका लागि उत्प्रेरित गर्दछौं।’
नेपाल र चीनबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको तथा चीन र नेपालका बीच पर्यटनका प्रचुर सहकार्यका संभावनाका बिषयमा जानकारी गराए। नेपालमा स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, काठमाडौं, पाटन, भक्तपुर दरबार स्क्वायर र लुम्बिनी गरी सात विश्व सम्पदा क्षेत्र रहेकाले यहाँको प्राकृतिक सौन्दर्यले चिनियाँलाई मन्त्रमुग्ध बनाउने विश्वास उनले प्रकट गरे।
लोन्ली प्लानेट, रफ गाइड, ट्रिप एडभाइजर र अन्यले नेपालका विशेषता र अद्वितीय विशेषताहरूलाई पर्यटकीय गन्तव्य वा जीवनमा एकपटक घुम्नैपर्ने गन्तव्यको रूपमा मूल्याङ्कन गरेको भन्दै उनले सांस्कृतिक समानता र भौगोलिक निकटताले नेपाल र चीनलाई नजिक ल्याएको बताए। राजदूत श्रेष्ठले भने , ‘नेपाल र चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले यो कार्यक्रम अहिले निकै सान्दर्भिक देखिन्छ।’
नेपालमा भारतीयपछि चिनियाँहरूको आगमन हुने गरेकोमा पछिल्लोपटक यो आँकडा खस्कँदै गएकाले चिनियाँ पर्यटकको सङ्ख्या बढाउन पर्यटक प्रवर्धनात्मक कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ। कोभिड-१९ महामारीपछि चिनियाँ पर्यटकको आगमन पूर्ववत् लयमा फर्किन सकेको छैन । सेल्स मिसनका प्रतिनिधिहरूले महामारीअघिको लयमा ल्याउने कसरत गरिरहेका हुन्। सन् २०१९ मा इतिहासकै सबैभन्दा ठूलो संख्याको रेकर्ड बनाउँदै करीब १ लाख ७० हजारजति चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए।
कार्यक्रममा नेपाली पर्यटन गतिविधिका बिषयमा सन्दर्भ सामग्री प्रस्तुत गर्नुका साथै विविध वृत्तचित्र देखाइएको थियो। नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी कुन्दनकुमार मिश्रले नेपालमा घुम्नुपर्ने स्थलहरुको बिषयमा परिचय दिँदै चिनियाँहरूका लागि आवश्यक सुविधाहरूका बिषयमा जानकारी गराए।
चीनमा हुने सीमित बिदाका बाबजुद सरकारी प्रोत्साहनका कारण वार्षिक १५ करोडभन्दा बढी चिनियाँहरू विश्व भ्रमणमा जाने गर्दछन्। चीनले एक दिनको विदालाई पनि सट्टे बिदा मिलाएर घुम्नका लागि पर्याप्त चाँजोपाँजो मिलाउने गरेको छ। विश्वमा पुग्ने पर्यटकको केही हिस्सा मात्रै नेपालमा भित्र्याउने प्रयत्न स्वरुप हालै चीनका क्वाङ्चौ, छङ्तु लगायतका स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गरिसकिएको छ। मईको दोस्रो साता क्वाङ्चौ अन्तर्राष्ट्रिय ट्राभल फेयर आयोजना गरिएको थियो ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले नेपाल सबै सिजनका लागि उपयुक्त गन्तव्य भएको सुनाए। सेल्स मिसनले गत मार्च १८मा पर्यटनको राजधानी घोषित भएको गण्डकी प्रदेशको पोखराको सौन्दर्य प्रस्तुत गरेको थियो। नेपालको पर्यटनलाई लयमा फर्काउने अपेक्षासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले नेपाली राजदूतावासको समन्वयमा यो प्रस्तुति दिएको थियो।











