झापा: काँग्रेस नेता डा. शेखर कोइरालाले प्रतिशोध साँध्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियामाथिको पक्राउ स्वीकार्य नभएको बताएका छन्। ‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानबिन हुन नदिने तर ३ दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिसले सही र गलत छुट्टाउनेमा विश्वस्त छु।’ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मई २१ मंगलबार अपरान्ह थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी पुलिसले कार्यकक्षबाटै पक्राउ गरेको छ। सिरोहियामाथि दोहोरो नागरिकता बिषयमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेलगत्तै उनलाई पक्राउ गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो।