सोरेङ: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना तयारीलाई लिएर सोरेङ जिल्लामा दोस्रो चरणमा काउन्टिङ सुपरभाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबरजर्भरहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना गरियो।सोरेङ जिल्लाको रूरवन कम्पलेक्समा आयोजित यस प्रशिक्षण कार्यक्रममा कूल १३५ जनाले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रममा सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदा,अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल योङदाले यस प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य र महत्वबारे प्रकाश पारिन्।
भारतको निर्वाचन आयोगको मापदण्ड र मतगणना प्रक्रियाको लागि आवश्यक महत्वपूर्ण समयमाथि जोड दिइन्। उनले मतगणना प्रक्रियाका क्रममा तीन मतगणना पर्यवेक्षकले मतगणना बुथको निरीक्षण गर्ने बताइन्। मतगणना बुथको दृश्य पावर पोइन्ट प्रेजेन्टेसन मार्फत मतगणना अधिकारीहरूलाई जानकारी गराउँदै उनले मतगणना अधिकारीहरूले बुथहरूको भ्रमण गर्ने जानकारी दिइन्।
सोही प्रकारले अतिरिक्त जिल्लापाल धिराज सुवेदीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा भीभीपीएटी स्लिपहरू ह्यान्डल गर्ने र कागजपत्र जाँच प्रक्रिया सहित मतगणनामा खटिएका अधिकारीहरूको कर्तव्यबारे विस्तृतरूपमा जानकारी गराए।