टिस्टा भेल्लीमा साप्ताहिक मंगलबारे हाट शुरू

IMG-20240521-WA0394.jpg

खरसाङ: पहाड समतलको विभिन्न ठाउँमा हाल आयोजना भइरहेको गोर्खे हाटहरू झै यता, दार्जीलिङको रंगली रंगली ब्लक अन्तर्गत टिस्टा भेल्लीमा पनि मंगलबारदेखि आधिकारिक रूपमा मंगलबारे हाट सुरू भएको छ। टिस्टा भेल्ली बजार गाउँस्थित सरकारी हाट सेट कम्प्लेक्स परिसरमा आज चिया कमानका सह प्रबन्धक बिरेन्द्र छेत्री, रंगली रंगली ब्लक कार्यालयका अधिकारी विद्या शर्मा, पञ्चायत प्रधान शन्तबीर सुब्बा आदिले संयुक्त रूपमा मंगलबारे हाटको विधिवत् उद्घाटन गरे। यस अवसरमा विशिष्ट अतिथिहरूमा मोहन कटुवाल, शेखर थापा उपस्थित थिए। यसैगरी, उद्घाटन अवधि हाट आयोजक कमिटीका अध्यक्ष नसीब बराइली लगायत सदस्यहरू मेन्डुप तामाङ, साजन दर्नाल, रिवाज तामाङ, शंकर गुरूङ, सुरज गुरूङ, मौसम राणा, चन्दन राई आदि उपस्थित थिए। मंगलबारे हाट कमिटीका सदस्य तथा पञ्चायत सदस्य मेन्डुप तामाङले मंगलबारे हाट सञ्चालन गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्दै विशेष गरेर स्थानीय बेरोजगार युवा-युवतीहरूले आफ्नै ठाउँमा सानो-तिनो केही व्यवसाय गरेर भए तापनि परिवार चलाउनमा केही आर्थिक सहयोग पुगोस् भन्ने रहको बताए। यसको साथै तिनले आफ्नो ठाउँमा उमारेका विभिन्न साग-सब्जीहरू तथा विविध प्रजातिका फल-फुलहरू पनि यहाँ ल्याएर बिक्री गर्न सक्ने बताए। यसवाहेक, मंगलबारे हाटले गर्दा घरमा दैनिक चाहिने अति आवश्यक सर-सामानहरू लगायत साग-सब्जीहरू किन्नका लागि धेरै रूपियाँ खर्च गरेर टाढा-टाढा जान नपरोस् तर कम मूल्यमा यहीँ आफ्नै ठाउँमा किन्न सकोस् भन्ने पनि हाट कमिटीको सोंच रहेको तिनले बताए। आजदेखि शुरू भएको टिस्टा भेल्ली मंगलबारे हाटमा पहिलो दिन आज स्थानीय टिस्टा भेल्ली लगायत ओदलाबारी, लप्चू, चेग्रा बस्ती, पुबुङ आदि ठाउँबाट व्यापारीहरू आएका थिए। अब प्रत्येक मंगलबारको दिन यहाँको कम्प्लेक्स परिसरमा हाट लाग्ने छ भने आगामी हप्तादेखि अझ धेर संख्यामा व्यापारीहरू विभिन्न ठाउँबाट यहाँ व्यापार गर्न आउने भएको हाट कमिटीका अर्का सदस्य साजन दर्नालले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement