खरसाङ: भारतीय नेपाली गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको साधारण सभा अनि कार्यकारी समितिको चुनाव हुने भएको छ। विगत ११० वर्षदेखि भारतमा नेपाली गोर्खाहरूको लागि कार्य गर्दै आईरहेका गोर्खा जनपुस्ताकालय खरसाङको वर्तमान निर्वाचित कार्यकारिणी समितिको समय सीमा पूरा भएको कारणले अब संवैधानिक रूपमा चुनावमार्फत् नयाँ कार्यकारिणी समितिको गठन गरिने भएको छ। उक्त कार्यकारी समितिको लागि साधारण सभा र चुनाव आगामी ९ जूनको दिन सम्पन्न हुने भएको छ। यस विषयमा आज गोर्खा जनपुस्ताकालय खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै पुस्तकालयको सचिव विनोद रसाइलीले जानकारी गराए अनुसार पुस्ताकालयको कार्यकारी समितिको चुनावको लागि तीनजना चुनाव अधिकारीहरू क्रमैले वरिष्ठ अधिवक्ता मानिकचन्द्र प्रधान, पूर्व प्रधान अध्यापक एवं वरिष्ठ समाजसेवी भीमबहादुर छेत्री र प्राध्यापक योगेस खाती चयन गरिएको छ। चुनावमा भाग लिन चाहाने इच्छुकहरूको लागि आजदेखि नामांकन पत्र वितरणको कार्य शुरू भएको र उक्त कार्य आगामी २४ मईसम्म चल्ने साथै नामांकन पत्र बुझाउने मिति २५ र २६ मई रहेको अनि नामांकन जाँच २७ मईमा हुने भएको छ। त्यसरी नै नामांकन पत्र फिर्ता लिने दिन २८ मई रहेको बताएका छन्। उनले यो सबै प्रक्रियाहरूका लागि समय ४ बजेदेखि ६ बजेसम्म राखिएको पनि मूल सचिव विनोद रसाइलीले बताएका छन्। उनले यस चुनाव गोप्य मतदानद्वारा हुने र यस चुनावमा गोर्खा जनपुस्ताकालयको लागि समय दिन सक्ने र सेवा दिन सक्ने व्यक्तिहरूले भाग लिईदिने र गोर्खा जनपुस्ताकालय खरसाङको गरिमा र योगदानलाई हेरेर यस यात्रामा सामेल भईदिने निवेदन पनि गरेका छन्। उनले बताए अनुसार गोर्खा जनपुस्ताकालय कार्यकारिणी समितिको गठन गोप्य मतदानको माध्यमले गरिने गरेको छ साथै चुनावको प्रक्रिया र नियमावली विषयमा हरेक सदस्यलाई पत्रचार गरेर जानकारी गराई सकेको छ।।उनले अझ बताए अनुसार चुानवमार्फत् गोर्खा जनपुस्ताकालय खरसाङको १७ जनाको कार्यकारिणी समितिको चयन गरिने र ४ जना सदस्यहरू १७ जना निर्वाचितहरूले नै चयन गर्ने अनि पुस्तकालयको जम्मा २१ जनाको कार्यकारिणी समिति गठन गरिने भएको जानकारी गराएका छन्। यस पत्रकार सम्मेलनमा गोर्खा जनपुस्ताकालय खरसाङको पूर्व सभापति एंव वरिष्ठ सदस्य तिलक शर्मा, मूल सचिव विनोद रसाइली, उपाध्यक्ष प्रकाश प्रधान, कोषाध्यक्ष निरङ्कर थापा, दुईजना चुनाव अधिकारी साथै अन्यहरू उपस्थित रहेका थिए।