आत्मनिर्भरताको बाटो देखाउँदै  आजदेखि शुरु भयो साप्ताहिक ‘टिस्टा भ्याली मंगलबारे’ हाट

d287de52-5b26-41e6-bbbd-d2079b4ff263

टिस्टा भ्याली: ‘भोकल फर लोकल’ अर्थात स्थानीय उत्पादन र उत्पादकहरूलाई प्रवर्द्धनको पहल हालमा निक्कै प्रचलित भएको छl यसका साथै जैविक खाद्यान्न, सागसब्जीहरूबारेमा सर्वसाधारणलाई जागरुक गराउने पहल भइरहेको छl यस्तै पहलको अवधारणामा हालमा पहाड साथै मधेशका विभिन्न ठाउँमा आयोजना भइरहेको गोर्खे हाटहरूको ढाँचामा दार्जीलिङको रंगली-रंगलीयट ब्लक अन्तर्गत टिस्टा भ्यालीमा आजदेखि आधिकारिक रूपमा मंगलबारे हाट शुरु भएको छ।

यो हाट प्रत्येक मंगलबार लाग्नेछl टिस्टा भ्याली  बजार गाउँस्थित सरकारी हाट सेड परिसरमा आज चिया बगानका सहप्रबन्धक बिरेन्द्र छेत्री, रंगली रंगलीयट ब्लक कार्यालयका अधिकारी श्रीमती विद्या शर्मा, पञ्चायत प्रधान शन्तबीर सुब्बा आदिले संयुक्त रूपमा मंगलबारे हाटको विधिवत उद्घाटन गरे। यस अवसरमा विशिष्ट अतिथिहरूमा मोहन कटुवाल, शेखर थापा उपस्थित थिए। यसैगरी, उद्घाटन अवधि हाट आयोजक कमिटीका अध्यक्ष नसीब बराइली लगायत सदस्यहरू मेन्डुप तामाङ, साजन दर्नाल, रिवाज तामाङ, शंकर गुरूङ, सुरज गुरूङ, मौसम राणा, चन्दन राई आदि उपस्थित थिए। 

मंगलबारे हाट कमिटीका सदस्य तथा पञ्चायत सदस्य मेन्डुप तामाङले मंगलबारे हाट सञ्चालन गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पारेl विशेष गरेर स्थानीय बेरोजगार युवायुवतीहरूले आफ्नै ठाउँमा सानोतिनो व्यवसाय गरेर परिवार चलाउनका आत्मनिर्भर बन्न सकोस् भन्ने उद्देश्य रहेको उनले बताए। यसका साथै आफ्नो ठाउँमा उमारेका विभिन्न किसिमका सागसब्जीहरू तथा विविध प्रजातिका फलफूलहरू पनि यहाँ ल्याएर बिक्री गर्नसक्ने उनले बताए।

यसबाहेक घरमा दैनिक रुपमा चाहिने अति आवश्यक सरसामानहरू लगायत सागसब्जीहरू किन्नका लागि धेरै रूपियाँ खर्च गरेर टाढा-टाढा जान नपरोस्, र सुलभ मूल्यमा यहीँ आफ्नै ठाउँमा किन्न सकोस् भन्ने हाट कमिटीको उद्देश रहेको उनले बताए। आजदेखि शुरू भएको टिस्टा भ्याली  मंगलबारे हाटमा पहिलो दिन स्थानीय टिस्टा भ्याली लगायत ओदलाबारी, लप्चु, चेग्रा बस्ती, पुबुङ आदि ठाउँबाट व्यापारीहरू आएका थिए। अब प्रत्येक मंगलबार  यहाँको परिसरमा हाट लाग्नेछ भने आउँदो हप्तादेखि अझ धेर संख्यामा व्यापारीहरू विभिन्न ठाउँबाट यहाँ व्यापार गर्न आउने हाट कमिटीका सदस्य साजन दर्नालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement