झापा: नेपाली कांग्रेसका सांसद आरजु देउवा राणा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाबीच सामान्य भनाभन भएको छ।
संघीय संसद भवनको बैठक हलमा जाने क्रममा आरजुले रास्वपा सांसद मनिषलाई भेटेर पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी थिइन्। मनिषले कांग्रेस सभापति शेरबहादुर देउवा मात्र होइन, उनकी पत्नी आरजु र छोरामाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए।
आरजुले राजनीतिमा संलग्न नै नभएको आफ्नो छोरा जयवीरलाई किन मुछेको भनेर सोधेकी थिइन्।
जवाफमा मनिषले जयवीरले जग्गा किनेको भनेर आएका समाचारतर्फ इंगित गर्दै यत्रो सम्पत्ति कहाँबाट आयो भनेर सोधेका थिए।
आरजुले यस्ता गलत प्रचार नगर्न आग्रह गरिन्। मनिषले भने यदि गलत भए कानुनी उपचारमा जानुस् भन्ने जवाफ फर्काएका थिए।
त्यसपछि भने आरजु रिसाइन्। उनले यस्तो रबिस (अनावश्यक/बेकारको) कुरा नगर्नुस् भनेकी थिइन्। एक सांसदका अनुसार मनिषले भने यस्तो भाषा प्रयोग नगर्न आग्रह गरेका थिए।
रास्वपा सांसद मनिषले पनि आरजु र आफ्नो सामान्य भनाभन भएको स्वीकार गरे।










