काठमाडौं: विवाहको बहानामा चीन पुर्याइ मानव बेचबिखन गर्ने गरेको अभियोगमा नुवाकोटको किस्पाङ्ग गाउँपालिका १ ठेगाना भई चीनमै बस्दै आएकी ४३ वर्षीया मनमाया घलेलाई पुलिसले पक्राउ गरेको छ। पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको पुलिसले उनलाई काठमाडौं महानगरपालिका–२७ ठमेलबाट पक्राउ गरेको हो। मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाईफकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २७ मार्च २०२३ (२०७९ चैत १३ गते) चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराएको खुल्न आएको छ। विवाहपश्चात पीडितलाई १४ अप्रेल २०२३ (२०८० वैशाख १ गते) चीनमा पुर्याएर यौन शोषण एवं वेश्यावृत्तिमा लगाएको पुलिसको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। मनमायाले पीडितलाई नेपाली पाँच लाख रुपियाँमा बेचबिखन गरेको समेत खुल्न आएको छ। पीडितलाई वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा चीनस्थित नेपाली दुतावाससगँको समन्वयमा १६ जून (२०८० असार १ गते) नेपाल फर्कन सफल भएका थिए। उनी उपर मानवबेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत पुलिसले खोजी गरिरहेको छ।









