झापा: सडक दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु भएको छ। मोरङ पुलिसका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो ।सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए। उनले चलाएको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल मेची महाकाली राजमार्ग संग जोड़िएको विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ तेतरिया चोकमा मई २०को राति ८ः५० बजेतिर दुर्घटनामा परेको डीएसपी बस्नेतले बताए। तेतरिया ग्रामथान गाउँपालिकाको केन्द्र हो। सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको पुलिसले जनाएको छ। हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा खान गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा लगिएको छ। दुर्घटनालगत्तै टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिएर पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको पुलिसको प्रारम्भिक अनुमान छ।