झापा: नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणाली परीक्षण केही दिनपछि सञ्चालनमा ल्याउने जनाएको छ। विद्युतीय तार भूमिगत गरेर सकिएको पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा परीक्षण गरिने विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसले बताए।
सो क्षेत्रमा केही दिनमा नै विद्युत वितरण गरिने उनको भनाइ छ। तार भूमिगत भएपछि सो क्षेत्रमा रहेका पोलहरु क्रमसँगै हटाइने भएकाले सो क्षेत्रका पोलमा जडान गरिएका इन्टरनेट अप्टिकल फाइबर, सीसीटिभी क्यामेरा, सडक बत्तीलगायतका संरचना ६ महिनाभित्र हटाइसक्न आग्रह गरेको छ। विद्युत् भूमिगत कार्य सकिएको स्थानबाट करिब ४०० पोल हट्नेछन्। सो समयमा उपकरणहरु नहटाए प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति प्राधिकरण जिम्मेवार नहुने प्राधिकरणका प्रवक्ता घोसले बताए।
२०२० साल फरबरीदेखि उपत्यकामा विद्युतको तार भूमिगत गर्ने कार्य सुरु भएको थियो। दुई वर्षमा सक्ने लक्ष्य रहे पनि चार वर्ष वित्दा समेत तार भूमिगत कार्य सम्पन्न हुन सकेको छैन। सडक विभागले काठमाडौंको मुख्य सडकमा विद्यु्तीय तार भूमिगत गर्न अनुमति नदिएको भन्दै प्राधिकरण असन्तुष्ट छ। प्राधिकरणले २०२३ सालसम्म भूमिगत कार्य सकिने जनाएको थियो। तर अहिलेसम्म काम सकिएको छैन। सरकारी निकायबिच नै समन्वय नहुँदा विद्युतीय तार भूमिगत गर्ने कार्य विषय अन्योलमा छ। सडक विभागले मुख्य सडक खन्न नदिँदा आयोजनाको म्याद लम्बिँदै गए पनि काम गर्न नसकिएको प्राधिकरणका प्रवक्ता घोसले बताउछन। सडक विभागले भने विद्युतीय तार भूमिग गर्ने काममा कुनै अवरोध छैन। प्रवक्ता रामहरि पोखरेलले विभाग र प्राधिकरणबिच एमओयूमा हस्ताक्षर भएकाले तार भूमिगत कार्यमा विभागले कुनै अवरोध नगरेको बतए।








