गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज दार्जीलिङको महाकाल मन्दिर, जापानिज टेम्पल र एचएमआई भ्रमण गरेका छन्। राज्यपाल आचार्यले महाकाल मन्दिरको भ्रमण गरेर पूजा अर्चना गरे।
उनले सिक्किम र सिक्किमे जनताको खुशी, शान्ति र समृद्धिको निम्ति प्रार्थना गरे। यसैगरी, उनले जापानिज टेम्पलको पनि भ्रमण गरेर प्रार्थना गरे।
यसैगरी, उनले हिमालयन माउन्टेनेरिङ इन्स्टीट्यूट (एचएमआई) पनि भ्रमण गरे, जहॉं उनलाई न्यानो स्वागत जनाइएको थियो। यस अवसरमा पर्वतारोहण अभियान सम्बन्धि एउटा वृत्तचित्र देखिइयो भने एचएमआईका ग्रुप कमाण्डर जय किशनले पर्वतारोहणबारे जानकारी गराएका थिए।
राज्यपालले संस्थानका सदस्यहरूको राष्ट्र एवं विश्वप्रति उल्लेखनीय योगदानको सराहना गरे। उनले एचएमआई संग्रहालय ऐतिहासिक सम्पत्ति रहेको बताए जसले पर्वतारोहणबारे समृद्ध इतिहासको संरक्षण गरेको छ। उनले तेन्जिङप्रति श्रद्धाञ्जली अर्पित गरेको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ।