खरसाङ: शब्द समय सालबारीको आयोजनामा वरिष्ठ साहित्यकार डा एडोन रोगोंगको निधनमा शोक सभा पालन गरिएको छ। डा एडोन रोंगोंगको गत दिनाङ्क १५ मईका दिन आफ्नो इहलीला त्यागेर प्रभुको शरणमा प्रस्थान गरेका थिए। उक्त शोक सभाको अध्यक्षता वरिष्ठ राजनीतिक चिन्तक डीएस बम्जनले गरेका थिए। सर्वप्रथम अध्यक्षद्वारा डा रोंगोंगको तस्वीरमा खादा पहिर्याएर उनको आत्माको चिर शान्तिको कामना गर्दै हृदयले एक मिनटको मौन धारण गरियो। त्यसपछि आफ्नो वक्तव्यमा वरिष्ठ कवि मोहन ठकुरीले युवाकालमा रोंगोंगसित दार्जीलिङमा बिताएका कुराहरुलाई केन्द्रित पार्दै रोंगोंग एकजना अति विनोदप्रिय स्वभावका व्यक्ति थिए भन्ने कुराको जानकारी दिए। सभामा कवि हेमन्त काफ्लेले रोंगोंका दुईवटा कविता पाठ गरेर उनको सामाजिक जीवनबारे सारपूर्ण वक्तव्य राखेका थिए। त्यसपछि डा सञ्जय वान्तवाले आफ्नो सारगर्वित वक्तव्यद्वारा रोगोंगको साहित्यिक र सामाजिक जीवनबारे बहुमूल्य जानकारी दिए। अन्त्यमा वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले रोंगोंगका सामाजिक, शैक्षिक र राजनीतिक अवदानहरुबारे विशेष जानकारी गराएका थिए। उक्त शोक सभामा आईएन शर्मा, भविलाल लामिछाने, मणिकुमार प्रधान, देविका मग्रांती, मोनिका प्रधान, बबिता मादेन, लीलबहादुर सुनार, जीत सुनार, पूर्ण मगर, सुभाष छेत्री आदि उपस्थित थिए।