बालबालिकाहरुमा रक्सी, गाँजा, चुरोट जस्तै मोबाइलको लत बढ्दो छ: डा. प्रदीप पाण्डे

Interview (Web Post) - 14

बालबालिकाहरुलाई प्रविधिबाट टाढा राख्ने होइन, हेर्ने विषयवस्तुमा निगरानी गर्ने हो’

डा.प्रदीप पाण्डे
नसा तथा मानसिक रोग विशेषज्ञ

पछिल्लो समय इन्टरनेट र प्रविधिको विकाससँगै बालबालिकाहरु मोबाइल प्रयोगमा अभ्यस्त हुँदै गएका छन्। अभिभावकहरुले सावधानी अपनाउन नसक्दा अतिरिक्त क्रियाकलाप, सिर्जनात्मक गतिविधि र पढाइमा भन्दा पनि बालबालिकाहरुमा स्क्रिन टाइम बढिरहेको पाइन्छ। जसका कारण डिप्रेसन र एनजाइटीका समस्याहरु देखिने गरेको अध्ययनले समेत प्रमाणित गरिसकेको छ। यसै सन्दर्भमा नेपाल न्यूज ब्यांकले ललितपुरको अल्का अस्पतालका नसातथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग कुराकानी गरेको छ।

विश्व स्वास्थ्य संगठन(डब्लुएसओ)ले लागू गरेको मापदण्डमा दुई वर्षसम्मको बालबालिकाहरुका लागि स्क्रिनटाइम छुट्याएको छैन। तीनदेखि चार वर्षसम्मका बालबालिकाहरुका लागि बढीमा एक घण्टा समय तोकेको छ। तर आजभोलि त्यो लागु भएको देखिँदैन, के कारण होला?

समय एकदमै परिवर्तनशिल। हामी टेक्नोलोजीमा एकदमै अग्रसर छौं। टेक्नोलोजीको युगमा स्मार्ट फोन, टेलिभिजनहरु आए, ल्यापटपहरु आए। यी वस्तुहरु विश्वमा आएसँगै नेपाली समाजमा पनि आयो। नेपाली समाजमा यो टेक्नोलोजी एउटा यस्तो हतियारको रुपमा आयो कि यसलाई के गर्ने? खाने कि, ओकल्ने भन्नेमा छ। यसलाई प्रयोग मात्र गरिरहने कि भन्नेमा नेपाली समाज पूरै अन्योलमा छ। कतै राम्रो सदुपयोग भइरहेको छ। कहीं सदुपयोग हुनुपर्ने ठाउँमा बढी दुरुपयोग भइरहेका कारण यसको असरहरु प्रशस्तै मात्रामा देखिरहेका छन्।

प्रस्तुतीः प्रमिला कार्की, नेपाल न्यूज ब्यांक

बालबालिकाहरुले स्क्रिनमा टाइम धेरै दिँदैगर्दा उनीहरुको भौतिक तथा मानसिक रुपमा कस्तो असर पर्दछ?

यसकाधेरै लक्ष्यणहरु छन्। मोबाइलमा लामो समयसम्म वा स्क्रिनमा समय दिँदै गर्दा सबैभन्दा पहिलो लक्षण भनेको थकानको महशुस हुनु हो। परिवारले सबै सुविधाहरु दिँदादिँदै पनि बालबालिका खुशी नदेखिनु हो। पढाइमा ध्यान नजाने,अनिन्द्राको समस्या देखिनु हो। हामीले थाहा नहुनेगरी बालबालिकाको रचनाच्मक क्रियाकलाप र अतिरिक्त सोचमा पनि विकास भएको देखिदैन। बाहिर केही नदेखिए पनि अतिरिक्त र रचनात्मक क्रियाकलापमा विस्तारै हस हुँदै जान्छ। दिमागको प्रयोग नहुने समस्या देखिन्छ।  बालबालिकाको मेमोरी क्षमता कम हुनु भनेको मोबाइलकै कारणले हो। उनीहरुले केही सम्झनै नपरेपछि दिमागले मेहेनत नगरेपछि, दिमाग कमजोर हुँदैजान्छ। दिमाग कमजोर हुँदै जान्छ। दिमाग पनि शरीरकोमसाज जस्तै हो। जसले मसाजको काम गर्छ उसको हातखुट्टा बलियो हुन्छ। आजभोलिका बालबालिकाले दिमागको प्रयोग नै गर्दैनन्। केही चाहियो भने गुगलमा खोज्छन्। बालबालिकाको आँखा रातो हुने, थकान महसुस गर्ने क्रियाकलापहरु देखिन्छ। उनीहरु मेहेनत गर्न चाँहदैनन्। केहि गरौं भन्ने हिम्मत गर्दैनन्। घरमा बसेर एक घण्टा पढ्ने क्षमता राख्दैनन्। बालबालिकाहरुमा छटपटीपना देखिन्छ। डिप्रेसन र एन्जाइटीको संकेत पनि देखिनसक्छ।

यसरी बालबालिकाहरुमा स्क्रिन टाइम बढिरहेको बेलामा हजुरको विचारमा बालबालिकाहरुमा स्मार्टफोन र इन्टरनेटको प्रयोग ठप्प नै पार्नुपर्छ भन्ने हो? या प्रयोग गर्न दिनुपर्छ तर व्यवस्थापन गरेर भन्ने हो?

म एकजनाले भनेर यो इन्टरनेटको दुनियाँमा टेक्नोलोजी ठप्प हुनेवाला छैन। इन्टरनेट टेक्नोलोजी यति तिब्र गतिमा छ कि कसैको तागतलेयसलाई रोक्न सक्दैन। पहिला हामीले यो स्वीकार्नुपर्छ कि हामी २१औं शताब्दीमा टेक्नोलोजीको युगमा छौं। मान्छेहरु टेक्नोलोजीको प्रयोग गरेर अर्ब–खर्बपति बन्दैछन्। बालबालिकाहरुलाई टेक्नोलोजीको प्रयोग गर्न नदिने, इन्टरनेट छुनै नदिने भन्ने हुँदैन्  सबैभन्दा पहिले त हामीले आफूले आफैंलाई प्रतिप्रश्न गर्न सक्नुपर्छ। के हामीले त्यो गर्न सक्छौं? त्यो गर्नु जायज छ? तर के चाँही हो भने टेक्नोलोजीको सही सदुपयोग गरिएन भने डिप्रेसन, एन्जाइटी मात्र होइन् बलात्कारको घट्नाहरु हुने, मानसिक तनाव हुने,  विभिन्न हिंसामा पर्ने घट्नाहरु हुनसक्छन्। त्यसैले यी चिजहरुमा सन्तुलन कसरी गर्ने भन्ने कुरा प्रमुख हो।

इन्टरनेटले हामीलाई संसारका सम्पूर्ण कुराहरु एउटा कोठाभित्र ल्याएर राखिदिएको छ। साँच्चिकै राम्रो कुरा सिक्नुछ भने इन्टरनेट भए भयो। हामी संसार नै घरमा बसेर पढ्न सक्छौं। इन्टरनेटबाट सिक्ने हजारौं कुराहरु छन्। तर यो चक्कु जस्तो हो ।त्यसले राम्रोसँग काट्न सके मिठो परिकार बनाउन सकिन्छ। जानिएन भने हात काट्छ। त्यसैले चक्कुको प्रयोग तपाईले कसरी गर्नुहुन्छ? बालबालिकालाई चक्कु हातमा दिँदैगर्दा बालबालिकाले सही सदुपयोग गर्न सकेनन् भने हात काट्नसक्छ। हतियार त दिनुभयो तर हतियारको प्रयोग गर्न बालबालिकालाई कसरी सिकाउनुहुन्छ? हतियार मात्र दिइरहनु भएको छ अथवा त्यसको सदुपयोग गर्न पनि सिकाइरहनुभएको छ, त्यस विषयमा मुख्य रुपमा ध्यान दिनुपर्छ। घरमा आफूलाई फुर्सद भएन भने बालबालिकालाई फोन दिएर टारिदिने, जे हेर्छ हेरोस भनिरहनु भएको छ कि। स्क्रिन टाइम कति दिनुभएको छ त्यसमा विशेष ख्याल गर्नुपर्छ। अर्कोकुरा बालबालिकाले स्क्रिनमा के विषयबस्तु हेरिरहेको छ त्यो अर्को महत्वपूर्ण प्रश्न हो। रोक्न खोज्नु चाहीं मुर्खता हो। रोक्दा बालबालिकाको दिमागमा कस्तो असर गरिरहेको छ त्यसमा विचार गरिएन भने चाहीं बालबालिका र युवाहरुलाई हतियारबाट बचाउन सक्दैनौं।

स्मार्टफोन र ग्याजेटहरुको प्रयोग बढेसँगै सामाजिक सञ्जालहरुको प्रयोग अधिक बढेको छ। कतिपय अविभावकहरुले लाइक र भ्यूजका लागि बालबालिकाहरुलाई प्रयोग गरिएको देखिन्छ। जबकी बालबालिकाहरुले के सहि के गलतसम्म छुट्याउन सकेको हुँदैन। यसरी बालबालिकालाई प्रयोग गर्दा कस्तो असर पर्न जान्छ?

सामाजिक सञ्जालको प्रयोग हाम्रो समाजमा अत्याधिक बढिरहेको छ। यसको फाइदा र बेफाइदा आफ्नो ठाउँमा छ। यसबारेमा विश्वमा बहस चलिरहेको छ। बालबालिकाका सम्पूर्ण सूचनाहरु फेसबुकमा राख्नु वा सामाजिक सञ्जालमा राख्नुले बालबालिकालाई धेरै ठूलो समस्याहरु निम्त्याउँछ। १४–१५ वर्षको बालबालिकालाई समाजिक सञ्जालमा राख्दा व्यक्तिगत सूचनाहरु पनि बाहिर जान्छ। र समाजमा भएका राम्रा र नराम्रा कुराहरु मानिसहरुसम्म पुग्छ। जसका कारण छोरी मानिसलाई नराम्रो गर्न चाहने मानिसहरुलाई सहज हुनजान्छ। बालबालिकाहरुलाई भाइरल हुने रहर जाग्छ र त्यो रहरले गर्दा उनीहरुको भविष्यमा समस्या आउनसक्छ।

१६ वर्षदेखि २४ वर्षसम्मको मानिससँग सम्बन्ध विस्तार हुँदा के गरिरहेको छु भन्ने आइडिया समेत बालबालिकाहरुले पाउन सक्दैनन्। बालबालिकाले कस्तो खालको क्रियाकलाप गरिरहेको छ, उसले गरेको निर्णयले उसलाई कति फाइदा हुन्छ र कति बेफाइदा हुन्छ भन्ने कुरामा जानकार नहुन सक्छन्। भविष्यमा आउने समस्याका बारेमा बालबालिका अनविज्ञ छन्। उसका रहर, चाहना र आवश्यक्ता पुर्तिका कारण अन्य हजारौं बालबालिकाहरु प्रभावित हुनसक्छन्। सामाजिक संजालमा एकजनाको क्रियाकलाप देखेर अर्को मोहित हुन्छ र अर्कोले प्रतिस्पर्धा गर्न थाल्छ। टिकटक र अन्य मिडियाको प्रयोग गरेर पैसा कमाए भन्दैमा भाइरल बन्नको लागि जुनसुकै क्रियाकलापहरु पनि अपनाउने या जस्तासुकै कपडाहरु लगाएर पपुलर हुँदै जान खोज्दा हाम्रो संस्कार र संस्कृतिमा समेत असर पर्नजान्छ।

स्मार्ट फोन र ग्याजेटहरुमा बालबालिकाहरु व्यस्त हुँदैगर्दा अभिभावक आफन्तहरुसँग कम अन्तरक्रिया गर्ने गर्दछ्न। यसले उनीहरुको समग्र सामाजिक विकासमा कस्तो असर पार्छ जस्तो लाग्छ?

सबैभन्दा पहिला त कोठाभित्रै बस्ने व्यक्तिलाई भविश्यमा के समस्या आउँछ, उसले आफ्नो मनमा लागेको कुरा, खुशी वा दुःखका पल साट्ने कुनै व्यक्ति भेट्दैन। भर्चुअल रुपमा उसले टाइप गरिराखेको हुन्छ। तर भर्चुअल साथीलाई भन्नु र रियल मानिसलाई गएर भन्नु फरक हुन्छ। एउटा मानिस भावनात्मक रुपमा अन्य मानिसहरुसँग नजिक भयो भनेमात्रसहज महसुस गर्छ।

पीएचडी गरेको मानिस घरमा थन्किएर बसेको हुन्छ, एसईई गरेको मानिसले पीएचडी गरेका सयौं व्यक्तिको नेतृत्व गरेर बस्नसक्छ। किनकी उसले जीवन पढ्नसक्छ। व्यक्ति पढ्नसक्छ। तर अबको पुस्ताका बालबालिकाहरु चाहे तिनीहरु मोबाइल र टेक्नोलोजिको प्रयोग गरेर कोठाभित्र बसे भने त्यो राम्रो काम गरेपनि नराम्रो गरेपनि भविष्यमा उनीहरुलाई समस्या हुनेछ। टेक्नोलोजीसँग २४ घण्टा नै व्यस्त हुँदा समाजबाट उ टाढा हुन्छ। रचना, सिर्जना र गुणस्तर घट्दै जान्छ।

अबको १० वर्ष पछाडि आठदेखि १० घण्टा चाहे राम्रो या नराम्रो कुराको लागि स्क्रिन टाइम प्रयोग गर्नुहोस यसले हाम्रो दिमागमा के कस्तो प्रभाव पार्छ त्यो अनुसन्धानमा आउनेवाला छ। तर मलाई लाग्छ, उनीहरु पछि गएर डिपे्रसन, एन्जाइटीमा जान्छन्।  अनिन्द्राको शिकार हुन्छन्। उनीहरुको सोच्ने क्षमतामा पनि प्रभाव पर्छ र समाजमा गएर कुरा गर्ने, घुलमिल हुने, नेतृत्व स्थापना गर्ने, नयाँ कुराहरुको विकास गर्नेलगायत व्यक्तित्व विकासमा असर गर्छ।

जतिबेला आफ्नो अस्तित्व समाजको अगाडि गएर प्रस्तुत गर्नुपर्ने हुन्छ त्यतिबेला त्यो तहमा प्रस्तुत गर्न सक्दैनन्। जुन तहमा उनीहरुसँग त्यो खुबी र क्षमता हुन्छ। त्यस कारणले गर्दा कोठाभित्र बसेर कसैले मोबाइल चलाइरहेको छ भने बाँकी समय सकेसम्म धेरैभन्दा धेरै मानिससँग कुरा गर्ने वातावरण बनाउन पर्दछ। अघिल्लो पुस्ताका मानिसहरुमा डर, अनिन्द्राको समस्या छैन। किनभने त्यो समयमाअहिलेको जस्तो प्रविधिको विकास भइसकेको थिएन। सबैजना प्रकृतिमा रमाउने, खेतमा काम गर्ने गर्थे। साइकोलोजीको अवस्था अहिले जस्तो थिएन। जतिजति समाज र प्रविधिको विकास हुँदैगयो, हामी एक्लो हुदैँ गयौं। हामी अनलाइनमा एकै पटक दुईसय जनासँग बोल्न सक्छौ तर आफ्नो मनको कुरा कसैसँग पनि खुलेर भन्न सक्दैनौ। यो आजको समाजको वास्तविकता हो।

हामी कस्तो समाजको संरचना गर्दैछौं? कस्तो देश बनाउँदै छौ? अहिलेको युवाहरुले यस्तै खालको कमजोर मानसिकताबाट देश र समाजलाई कहाँ लैजाला, हामीले अब आउने युवाहरुलाई हेर्ने हो। उनीहरुबाट हाम्रो देश र समाज निर्धारण हुने हो तर यदि उनीहरुकै मन कमजोर छ, बाहिर गएर कुरा गर्न डराउँछ भने उसले त्यो नेतृत्व समाजमा कसरी स्थापित गर्छ?

पीडा, घृणा, प्रेम र आतुरी सबै कुराहरुको अनुभव गर्न पाएन भने भावनाबाट टाढिदै जानुको एउटै मात्र शत्रु भनेको प्रविधि हुनेछ। त्यही भएर प्रविधिको सहि सदुपयोग गर्नुपर्छ भन्ने पक्षमा छु। तर पनि धेरै भन्दा धेरै समय प्रयोग गर्नुपर्छ भन्ने पक्षमा भने छैन। तर त्यो भन्दैगर्दा हाम्रो प्रविधिका प्रयोगबाट अर्बौ रेमिट्यान्स आइरहेको छ। म उहाँहरुलाई पनि के भन्न चाहन्छु भने तपाईहरुले बाँकी समय सकेसम्म बाहिर समाजमा बसेर बिताउन अनुरोध छ।

जब जब मलाई खुशीदिने कुरा अगाडि हुन्छ, म अरु कुनैपनि विषयमा ध्यान दिन सक्दिनँ। मेरो घरमा सबैभन्दा खुशी हुने कुरा मोबाइल भयो। पहिला चंगा उडाउने, गुच्चा खेल्ने थियो। अहिले त्यो सबै परिवर्तन भयो। अहिलेको बालबालिकालाई त्यस्तो कुनै पनि कुराको चासो छैन। किनभने हामीले त्यस बारेमा कहिलै कुरा नै गरेका छैनौं। कतिपय बालबालिकाहरुले यस्तो कुराहरु नदेखेको पनि हुनसक्छ। 

रक्सी, गाजा, चुरोटहरु पनि लत हो। यसले ब्रेनमा हानी गर्छ। मोबाइल चलाउन दियो भने बालबालिकाहरु आनन्द मान्छन र खुशी हुन्छन्। यो मोबाइलको लत हो। रक्सीको लत भएको मान्छेले खाएन भने हातहरु काप्ने, डर लाग्ने हुन्छ। यसमापनि त्यस्तै हुन्छ बालबालिकालाई मोबाइल नदिने हो भने उनीहरु पनि झगडालु हुन्छन् र अभिभावकहरुसँग टाढा हुँदै जान्छन्।

अभिभावकहरु बिहानदेखि बालबालिकालाई कसरी राम्रो बनाउने भनेर सोचिरहेका हुन्छन्। तर बालबालिकाको यस्तो व्यवहारले गर्दा अभिभावकहरु पनि प्रभावित हुँदै जान्छन्। सबै कुराको सुविधा दिंदा पनि बालबालिकाहरु स्वतन्त्र भइन भनेर अभिभावकहरुबाट टाढा जान खोज्छन्। यो सबैको कारण भनेको मिडिया हो। मोबाइलमा वा मिडियामा जे देख्छन् उनीहरुलाई त्यही चाहन्छन्। मिडियामा नकारात्मक कुराहरु देखाएको छ भने उनीहरुले त्यही हेरिरहेका हुन्छन्। एउटै कुरा धेरै पटक हेर्ने हो भने असत्य पनि सत्य हुन्छ। जे देख्यो त्यो सत्य हो भन्ने सोचेर यो देशमा केही हुँदैन भनेर अनि विदेश जाने सोच आउँछ। यही कारणले पनि हामीले क्षमतावान युवाहरुलाई गुमाइरहेका छौं। यसको कारण हामी नै बनिरहेका छौं।

इन्टरनेटको प्रयोगबाट मानसिक अवस्था खराब भएर आएका मानिसको उपचार प्रक्रिया भने कस्तो हुन्छ?

इन्टरनेटको लतसँग धेरै कुराहरु जोडिएर आउँछ। जस्तै रिस, अनिन्द्रा, पढाइ विग्रिने, डिप्रेशनमा जाने यस्तै धेरै कुराहरु जोडिएको हुन्छ। यसमा एउटै प्रकारको उपचार हुँदैन। सामान्य मात्र भयो भने सम्झाएर पठाउने हो। मोबाइल के हो, यसका फाइदा, बेफाइदाको बारेमा सम्झाउने हो। परिवारका सदस्यहरुसँग बालबालिकालाई कसरी सेटअप गर्ने त्यो भने सम्झाउनुपर्छ। अभिभावकलाई भन्दा बढी कुरा बालबालिकाहरुले मोबाइलबाट थाहा पाउँछन्। उनीहरुले अभिभावकहरुलाई तबसम्म मान्छन् जबसम्म उसलाई लाग्छ कि मेरो अभिभावकहरुले भनेका निर्णयहरु र ज्ञानहरु मेरा लागि योग्य र महत्वपूर्ण छन्। जुन दिन बालबालिकालाई मेरो अभिभावकहरुलाई केही पनि आउँदैन भन्ने भ्रम पैदा हुन्छ, त्यही दिनदेखि बालबालिकाले बा आमाले भनेको मान्दैन। अभिभावकहरुले बालबालिकाको तहमा प्रविधिको प्रयोग गर्न सक्दैनन्, यसलाई कसरी सन्तुलन गर्ने यो सहज स्थिति होइन।

तपाईं डाक्टरसँगै अभिभावकका रुपमा पनि हुनुहुन्छ। तपाईंले आफ्नो बालबालिकाहरुलाई प्रविधिको प्रयोग र समाजमा घुलमिल हुने कुरालाई कसरी सन्तुलन गर्नुभएको छ?

मैंले दिनमा एक घण्टा मोबाइल चलाउने भनेर समय तोकेको थिएँ। त्यो पनि रोकेर।  अहिले बालबालिकाले आइतबारदेखि बिहीबारसम्म मोबाइल चलाउन पाउँदैन। शुक्रबार र शनिबार पनि समय छुट्टाइ दिएको छु। कमसेकम दुई घण्टा उसले आफूले मन परेको विषयवस्तु हाम्रो निगरानीमा हेर्न पाउँछ। १२–१३ वर्षसम्मको बालबालिकाको लागिसमय तोकेर मोबाइल चलाउन दिन सकिन्छ।

कुनैपनि अभिभावकले आफ्नो बालबालिकाहरुले के हेरिरहेको छ। त्यसको निगरानी नै नगरी, बालबालिकाहरुलाई भुलाउनको लागि फोन दिने प्रवृत्ति छ।

त्यस्तो अभिभावकलाई के सुझाव दिनहुन्छ?

हतियार दिनुभयो तर त्यसको प्रयोग कसरी गर्ने भनेर भन्नु भएन भने त्यसले काट्छ। बालबालिकालाई त्यसले प्रभाव पार्छ नै। तर त्यो हतियार नदिनको लागि तपाई आफै मेहेनति हुनुपर्छ। समस्या बालबालिकाहरुको होईन्, अभिभावकहरुको पनि हो। जसले बालबालिकाहरुलाई होमवर्क गर भन्ने अनि आफू दुईघण्टा बसेर टिभी हेर्ने वा मोबाइल हेर्ने, बालबालिकाहरुले हेरेर पनि धेरै विषयहरु सिक्ने गर्छ। बालबालिकालाई सहि दिशामा लानु छ भने उनीहरुसँग खेल्नुपर्छ, पढ्नुपर्छ। दिनभरी घरमा बसेपनि बालबालिकासँग समय बिताउँदैन भने उनीहरु राम्रो अभिभावकहरु होइनन्। कमसेकम एक दिन भएपनि आफ्नो बालबालिकाहरुसँग समय बिताउनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement